उदयपुरको राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा अवैध सडक निर्माण, वन कर्मचारी मौन (फोटो सहित)

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४, साउने आसपासका क्षेत्रमा वन कर्मचारीहरूको लापरवाही र ठेकेदारहरूको मिलेमतोमा राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा कानुनविपरीत व्यापक रूपमा सडक निर्माण भइरहेको पाइएको छ । उक्त क्षेत्रमा जेसीभी प्रयोग गरी धमाधम सडक खनिँदै आएको छ ।

स्थानीय पवन राईका अनुसार सब–डिभिजन वन कार्यालय खाँबु दियाले आसपासका राष्ट्रिय वन तथा सो क्षेत्रमा रहेका दुई दर्जनभन्दा बढी सामुदायिक वनभित्र लामो समयदेखि अवैध रूपमा सडक निर्माण भइरहेको छ । यति ठूलो गतिविधि सार्वजनिक हुँदासमेत वन कर्मचारीहरू मौन बसेको आरोप स्थानीयले लगाएका छन् । सडक निर्माणमा प्रयोग भइरहेको जेसीभीलगायत सामग्रीसमेत नियन्त्रणमा नलिइएको उनीहरूको गुनासो छ ।

स्थानीयवासीका अनुसार डिभिजन वन कार्यालय गाईघाट, सब–डिभिजन वन कार्यालय खाँबु दियाले र ठेकेदारबीचको सेटिङमा सडक निर्माण भइरहेको आरोप छ । उनीहरूले अवैध रूपमा सडक खनाउने ठेकेदार तथा प्रयोगमा रहेका उपकरणहरू नियन्त्रणमा लिनुपर्नेमा वन कर्मचारीहरू निष्क्रिय बनेको भन्दै आक्रोश व्यक्त गरेका छन् । निर्माण गरिएको नयाँ सडकमार्फत काठको निकासी हुँदै आएको छ ।

यस विषयमा सब–डिभिजन वन कार्यालय खाँबु दियालेका प्रमुख (वन अधिकृत) शिवनारायण यादवले राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा सडक खनिएको बारे आफूहरूलाई जानकारी नभएको बताएका छन् । उनले यदि त्यस्तो कानुनविपरीत गतिविधि भएको पाइएमा संलग्न व्यक्ति र सामग्री तत्काल नियन्त्रणमा लिइने बताएका छन् ।

हाल, सब–डिभिजन वन कार्यालय खाँबु दियाले आसपासका राष्ट्रिय वन क्षेत्रमै सडक निर्माण भइरहेको छ भने सोही कार्यालयअन्तर्गतका केही सामुदायिक वनहरूमा समेत सडक खनिँदै आएको छ । साथै, अन्य धेरै सामुदायिक वन क्षेत्रमा पनि सडक निर्माणको तयारी भइरहेको पाइएको छ । यस विषयमा डिभिजन वन कार्यालय गाईघाट र सब–डिभिजन वन कार्यालय खाँबु दियाले दुवै कार्यालय मौन देखिएका छन् ।

Facebook Comments Box