पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक लाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सशस्त्र प्रहरीको सहयोगमा उनलाई भक्तपुरको कटुञ्जेबाट शनिबार बिहान करिब ५ः४० बजे नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार उनलाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको हो । पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरिएको जनाइएको छ ।

भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर केही किशोरहरूको ज्यान गएपछि उक्त घटनाले व्यापक विवाद निम्त्याएको थियो । सोही घटनापछि तत्कालीन गृहमन्त्री रहेका लेखकले सोही साँझ पदबाट राजीनामा दिएका थिए ।

उक्त घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायत सुरक्षा निकायका उच्च पदाधिकारीमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

यसैबीच, बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो । हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments