बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ, १५ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) नेतृत्वको नयाँ सरकार गठन भएसँगै मुलुकको कार्यकारी नेतृत्वमा नयाँ अध्याय सुरु भएको छ । रामचन्द्र पौडेलले शुक्रबार दिउँसो १२:३२ बजे आयोजित विशेष समारोहमा शाहलाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहणसँगै प्रधानमन्त्री शाहले १५ सदस्यीय मन्त्रिपरिषद गठन गर्दै मन्त्रीहरूलाई समेत पद तथा गोपनीयताको शपथ गराएका छन् । नयाँ मन्त्रिपरिषदमा प्रधानमन्त्री स्वयंले रक्षा तथा उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्, जसले उनको नेतृत्व शैली र प्राथमिकता स्पष्ट पारेको विश्लेषकहरूको भनाइ छ ।

मन्त्रिपरिषदको वरीयतामा दोस्रो स्थानमा रहेका स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने तेस्रो वरीयतामा रहेका सुधन गुरुङले गृह मन्त्रालय सम्हालेका छन् । त्यस्तै, शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

पूर्वाधार र विकाससँग सम्बन्धित मन्त्रालयहरूमा सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय सम्हालेका छन् भने विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्वमा नियुक्त भएका छन् । पर्यटन क्षेत्रको जिम्मेवारी खड्कराज पौडेललाई दिइएको छ ।

सामाजिक क्षेत्रतर्फ सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि साथै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ भने निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् । सञ्चार मन्त्रालयको जिम्मेवारी विक्रम तिमिल्सिनाले पाएका छन् ।

त्यस्तै, सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावललाई दिइएको छ भने दीपक साह श्रम मन्त्री बनेका छन् । कानुन मन्त्रालयको जिम्मेवारी सोविता गौतमले पाएकी छन् भने सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छन् ।

नयाँ मन्त्रिपरिषद गठनसँगै सरकारको प्राथमिकता, नीति तथा कार्यक्रमप्रति सर्वत्र चासो बढेको छ । आर्थिक सुधार, सुशासन, पूर्वाधार विकास र रोजगारी सिर्जनामा सरकारको ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ ।

Facebook Comments