



उदयपुर । २० दिनदेखि हराइरहेकी उदयपुरगढी गाउँपालिका–५ भोगटेकी ४६ वर्षीया सोममाया तामाङ मृत अवस्थामा कङ्काल मात्र फेला परेका छन् । उनी हराएको २० दिनपछि स्थानीय मौवासी जंगलअन्तर्गत पर्ने द्वारे खोल्सीमा कङ्काल मात्र बाँकी रहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
गत फागुन २१ गतेदेखि सम्पर्कविहीन भएकी सोममायाको खोजी कार्य जारी रहे पनि कुनै सुराक नलागेको अवस्थामा बुधबार स्थानीयले उनको शव देखेपछि घटना बाहिरिएको हो । घाँस–दाउरा गर्न जंगल गएका स्थानीय मानबहादुर राईले खोल्सीमा कङ्काल देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शव पूर्ण रूपमा सडिसकेको अवस्थामा रहेको र पहिचान लुगा तथा चप्पलका आधारमा गरिएको हो । प्रारम्भिक जानकारीअनुसार मृतक केही समयदेखि मानसिक समस्याबाट ग्रसित थिइन् र बेला–बेलामा घरबाट नबताई बाहिर निस्कने गरेको खुलेको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव जिल्ला अस्पताल गाईघाट पठाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।