



उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ११ बजे चौदण्डीगढी नगरपालिका–१० भिमा स्थित मदन भण्डारी लोकमार्गमा गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र.०१–०५–००२ प १८२७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको उत्तरतर्फ रहेको सखुवाको रुखमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौदण्डीगढी नगरपालिका–५ सिवाई निवासी १८ वर्षीय समिर चौधरीलाई उपचारका लागि नगर अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका १८ वर्षीय मौसम चौधरी र २३ वर्षीय अशोक चौधरीलाई थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।