



उदयपुर । संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुरका दुई निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गरेका कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन आयोगले शुक्रबार दिउँसो १ बजेसम्म मनोनयन फिर्ताको समय तोके पनि अन्तिम समयमा समेत उम्मेदवारी यथावत् रहेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।
उनका अनुसार उदयपुरका दुबै निर्वाचन क्षेत्रमा गरी कुल ३१ जना उम्मेदवार चुनावी मैदानमा कायम रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा १८ जना र निर्वाचन क्षेत्र नम्बर २ मा १३ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । दुबै क्षेत्रका निर्वाचन अधिकृत कार्यालयले आजै निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेका छन् ।
यस निर्वाचनमा उदयपुरका दुबै क्षेत्रमा स्वतन्त्र उम्मेदवारको उपस्थिति पनि कायमै रहेको छ । निर्वाचन क्षेत्र नम्बर १ बाट डा. देवराज रोका र निर्वाचन क्षेत्र नम्बर २ बाट मेजरकुमार राई स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
राजनीतिक अर्थशास्त्रमा पीएचडी गरेका डा. रोका एमाले निकट मानिन्छन् । यस्तै, मेजरकुमार राई लिम्चुङबुङ गाउँपालिकामा दुई कार्यकाल अध्यक्ष निर्वाचित भइसकेका व्यक्ति हुन् । कार्यकाल बाँकी हुँदै पदबाट राजीनामा दिएर संघीय निर्वाचनमा उम्मेदवारी दिएका राईको उम्मेदवारी पनि अन्तिम रूपमा कायम भएको हो ।
मनोनयन फिर्ता नहुँदा उदयपुरका दुबै निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ । अब उम्मेदवारहरू प्रचार–प्रसारमा केन्द्रित हुने तयारीमा छन् ।