



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता देखिएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी दिएका ३ हजार ४ सय ८७ जनामध्ये ६० वर्ष वा सोभन्दा माथिका उम्मेदवार ४९८ जना रहेका छन् ।
नेपालको कानुनले ६० वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिकको रूपमा परिभाषित गरे पनि राजनीतिमा भने उमेरको अधिकतम सीमा तोकिएको छैन । जनप्रतिनिधि बन्न न्यूनतम २५ वर्ष उमेर पूरा गर्नुपर्ने प्रावधान भए पनि माथिल्लो उमेर हद नहुँदा ज्येष्ठ नागरिकहरू निरन्तर चुनावी प्रतिस्पर्धामा देखिँदै आएका छन् ।
आयोगका अनुसार ६० वर्ष उमेर समूहका ६२ जना उम्मेदवार छन् भने ६१ देखि ८० वर्ष उमेर समूहका ४२९ जना चुनावी मैदानमा छन् । ८० वर्ष वा सोभन्दा माथिका उम्मेदवारको संख्या सात पुगेको छ। सबैभन्दा बढी उमेरका उम्मेदवार ८७ वर्षका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट ८७ वर्षीय पूर्वप्रशासक मदनदेव आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । यस्तै, झापा–१ बाट ८३ वर्षीय हिरण्यप्रसाद भट्टराई, काठमाडौं–९ बाट ८२ वर्षीया पञ्चकुमारी मानन्धर, महोत्तरी–१ र रुपन्देही–५ बाट ८१–८१ वर्षीय उम्मेदवारहरू चुनावी दौडमा छन् ।
ओखलढुंगा–१ मा ८० वर्षीय शेरबहादुर खत्री राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रतिस्पर्धामा छन् । केही उम्मेदवार नागरिकतामा उल्लेखित जन्ममितिका कारण उच्च उमेर समूहमा परेका आयोगको विवरणमा उल्लेख छ ।
पुराना दलको भरोसा, स्वतन्त्रको पनि आकर्षण
ज्येष्ठ उम्मेदवारलाई अघि सार्नेमा परम्परागत राजनीतिक दलहरू अग्रस्थानमा देखिन्छन् । नेपाली कांग्रेसबाट ५५ जना, नेकपा एमालेबाट ५३ जना र नेपाली कम्युनिस्ट पार्टीबाट ३७ जना ज्येष्ठ नागरिक उम्मेदवार रहेका छन् । राप्रपाबाट ४५ जना, जनता समाजवादी पार्टी नेपालबाट १७ जना तथा अन्य साना दलबाट पनि उल्लेख्य संख्यामा ज्येष्ठ उम्मेदवार मैदानमा छन् ।
स्वतन्त्र उम्मेदवारको उपस्थिति पनि उल्लेखनीय छ। निर्वाचन आयोगका अनुसार ६० वर्षभन्दा माथिका १११ जना उम्मेदवार स्वतन्त्र रूपमा प्रतिस्पर्धामा उत्रिएका छन् ।
शीर्ष नेतृत्व पनि ज्येष्ठ उमेर समूहमै
यो निर्वाचनमा प्रमुख दलका शीर्ष नेताहरू पनि ज्येष्ठ उमेर समूहमै पर्छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की लगायतको उमेर ६५ वर्ष नाघिसकेको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार लामो अनुभव, संगठनमा पकड र मतदातासँगको पहिचानका कारण दलहरूले अझै पनि ज्येष्ठ नेतामाथि भरोसा गरिरहेका छन् । तर, यही अवस्थाले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई थप चर्काएको छ ।
आगामी निर्वाचन परिणामले मतदाताले अनुभवलाई प्राथमिकता दिन्छन् वा पुस्तान्तरणको अपेक्षालाई—त्यसको संकेत दिने विश्लेषकहरूको भनाइ छ ।