



विराटनगर । काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएलगत्तै चुनावी मैदानमा होमिएका बालेन साहले मधेस हुँदै कोशी प्रदेशका सात जिल्ला घुमेर संघीय राजधानी काठमाडौँ फर्किएका छन् ।
मधेस प्रदेशको राजधानी जनकपुरबाट आफ्नो चुनावी यात्रा सुरु गरेका साहले त्यहाँ सभा र भेटघाट सम्पन्न गरेपछि कोशी प्रदेशलाई मुख्य केन्द्र बनाए। माघ ५ गते साँझ कोशी प्रवेश गरेका उनी उर्लाबारी–७ स्थित आफ्नो ससुरालीमा बसेर स्थानीय भेटघाटबाट कार्यक्रम सुरु गरेका थिए ।
माघ ६ गते बिहान झापा निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गरेका साह सोही दिन समर्थक र शुभेच्छुकहरूसँग भेटघाट गर्दै दमकमा बसे। भोलिपल्ट उनले झापा, मोरङ र सुनसरीका तीन हजारभन्दा बढी समर्थकलाई दमक–५ स्थित लक्की सिटौलाको निवासमा भेटेका थिए ।
त्यसपछि इलाम पुगेका साहले सदरमुकाममै समर्थकहरूसँग संवाद गरे। माघ ८ गते ताप्लेजुङ पुगेका उनले समर्थकसँग भेटघाट गर्दै पाथीभरा मन्दिर दर्शनका लागि प्रस्थान गरे । सोही क्रममा माथिल्लो फेदीमा बास बसेका साह माघ ९ गते पाँचथर हुँदै तेह्रथुम पुगेका थिए ।
तेह्रथुम र संखुवासभामा साहले स्थानीय उम्मेदवारसँगै सीमित कार्यक्रम राखे पनि अन्य जिल्लाजस्तो औपचारिक सम्बोधन भने गरेनन् । शनिबार बिहान संखुवासभाको कार्यक्रम सकेर उनी धनकुटा पुगे। धनकुटामा पैदल भेटघाटको योजना भए पनि सवारीमार्फत् सदरमुकाम परिक्रमा गर्दै उनी सुनसरीतर्फ लागे ।
इटहरीमा गाडीबाटै समर्थकलाई अभिवादन गरेका साह साँझ विराटनगर आइपुगेका थिए। विराटनगरमा केही उम्मेदवार र समर्थकसँग भलाकुसारी गरेपछि उनी सोही साँझ काठमाडौँ प्रस्थान गरेका हुन् ।
विराटनगर–काठमाडौँ उडान एक घण्टा ढिलो हुँदा साह केही समय एयरपोर्ट रोडस्थित होटल पर्पल हेजमा बसेका थिए । उनको उपस्थितिको खबर फैलिएपछि त्यहाँ ठूलो संख्यामा समर्थक जम्मा भए पनि साहले गाडीबाटै अभिवादन गर्दै विमानस्थल प्रवेश गरेका थिए ।
बालेन साहको कोशी प्रदेश भ्रमणले चुनावी माहोल थप तातेको सम्बन्धित दलका नेताहरूको दाबी छ। ताप्लेजुङका उम्मेदवार वीरेन्द्र श्रेष्ठका अनुसार साहको उपस्थितिले स्थानीय स्तरमा उत्साह बढाएको छ ।
उनले भने, “बालेन साह आएपछि जनतामा हाम्रो पक्षमा सकारात्मक सन्देश गएको छ ।”