खोटाङमा म्यादी प्रहरी भर्नामा लक्ष्यअनुसार आवेदन नपुगेको

खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्नामा लक्ष्यअनुसार आवेदन नपुगेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङका अनुसार जिल्लामा म्यादी प्रहरीका लागि १ हजार २ सय ८२ जनाको आवश्यकता रहेकोमा तोकिएको समयसीमाभित्र १ हजार १ सय ७३ जनाले मात्र आवेदन दिएका छन् ।

मागभन्दा १ सय ९० जनाले कम आवेदन परेपछि दरखास्त दिने म्याद थप गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमिति संयोजक कोपिला राईले पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त आह्वान गरिएको भए पनि आवश्यक संख्यामा आवेदन नपरेपछि माघ ३ गतेसम्म म्याद थप गरिएको जानकारी दिइन् ।

उनका अनुसार म्यादी प्रहरी छनोट प्रक्रिया माघ १२ गतेभित्र सम्पन्न गरी नतिजा सार्वजनिक गर्ने कार्यतालिका रहेको छ । आवेदन संख्या कम भए पनि निर्धारित समयअगावै छनोट प्रक्रिया पूरा गरी आवश्यक तालिममा खटाउने तयारी भइरहेको उनले बताइन् ।

आगामी निर्वाचनका लागि खोटाङ जिल्लामा १ सय ३६ वटा मतदानस्थल र १ सय ९५ वटा मतदान केन्द्र तोकिएका छन् । दुई नगरपालिका र १० स्थानीय तह रहेको जिल्लामा कुल १ लाख ४७ हजार १ सय २० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टीलगायत प्रमुख दलका साथै अन्य दल र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन सुरक्षाको दृष्टिले म्यादी प्रहरीको भूमिका महत्वपूर्ण मानिँदै आएको भए पनि यस वर्ष अपेक्षाअनुसार आवेदन नपर्नु प्रशासनका लागि चुनौतीका रूपमा देखिएको छ।

Facebook Comments