आगामी निर्वाचनमा रुकुम पूर्व रोज्छु : प्रचण्ड

रुकुम पूर्वी । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा पूर्वी रुकुमलाई आफ्नो चुनावी आधार बनाउने संकेत दिएका छन् । शनिबार रुकुम पश्चिममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले पूर्व र पश्चिम रुकुम ऐतिहासिक र भावनात्मक रूपमा एउटै भएको उल्लेख गर्दै यही भूभागबाट चुनाव लड्ने तयारीमा रहेको संकेत गरेका हुन् ।

आफ्नो राजनीतिक योजना प्रस्तुत गर्दै प्रचण्डले रुकुमको विकासप्रति आफू सधैं प्रतिबद्ध रहेको बताए । उनले रुकुमेली जनता सचेत, दृढ र महान् रहेको उल्लेख गर्दै उनीहरू कुनै भ्रामक वा विचलित शक्तिको पछि नलाग्ने दाबी गरे । रुकुमलाई क्रान्तिको भूमि भन्दै यहाँका जनताले सधैं परिवर्तनको पक्षमा उभिएको उनको भनाइ थियो ।

सभामा उनले पार्टीबाट अलग भएका र विचारबाट विचलित भएकाहरूप्रति कटाक्ष गर्दै केही नेताहरूले आन्दोलन र सिद्धान्त त्यागे पनि रुकुमका जनता भ्रममा नपर्ने स्पष्ट पारे । “रुकुमका जनता कसैका दास होइनन्,” उनले भने, “उनीहरू क्रान्तिका लाल सिपाही हुन् ।”

प्रचण्डले अब पार्टी हेडक्वार्टर र रुकुमेली जनताबीच प्रत्यक्ष सम्बन्ध कायम हुने विश्वास दिलाए। साथै, विकास निर्माण, कृषि उत्पादन वृद्धि, ऊर्जा, शिक्षा र स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राखेर नयाँ संकल्पसहित अघि बढ्ने गरी चुनावी घोषणापत्र तयार गर्ने काम सुरु भइसकेको जानकारी पनि दिए ।

Facebook Comments