



उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–७ होक्से क्षेत्रमा पर्ने मदनभण्डारी लोकमार्गमा आज बिहान सिमेन्ट मिक्सर जडान गरिएको ट्याक्टर दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
होक्सेबाट चुहाडेतर्फ जाँदै गरेको स १ त २८२५ नम्बरको ट्याक्टर ओरालो सडक खण्डमा अचानक अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टरमा सवार त्रियुगा नगरपालिका–६ जलजले निवासी ४३ वर्षीय राजा हुसेन अली र सोही वडाको मोहनपुर बस्ने २६ वर्षीया आशा सदा गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
यसै दुर्घटनामा त्रियुगा नगरपालिका–६ मोहनपुरकी ४ वर्षीय समिद्रा सदा र जलजलेका ४५ वर्षीय शम्भु सदा घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल उदयपुरमा उपचारपछि अवस्था सामान्य भई घर फर्किएको जनाइएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक त्रियुगा नगरपालिका–६ बगरटोल निवासी करिब ३० वर्षीय बिलेतिय भनिने मनोज साह घटनास्थलबाट फरार भएका छन् । उनको खोजी कार्य जारी रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।