



उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ किरात चोकमा दम्पतीबीच भएको घरेलु विवादले भयावह रूप लिँदा श्रीमतीको ज्यान गएको छ । आइतबार बिहान करिब ८ बजे भएको झगडाका क्रममा स्थानीय ३० वर्षीय खगेन्द्र राईले आफ्नी श्रीमती २७ वर्षीया भावना भनिने गंगा राईमाथि धारिलो हतियार प्रहार गरेका थिए ।
घाइते अवस्थामा तत्काल उपचारका लागि धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकी गंगाको बिहान ९ बजेर ५० मिनेटमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
श्रीमतीमाथि आक्रमण गरेपछि खगेन्द्र राईले आफ्नै शरीरमा पनि छुरा प्रहार गरी आत्महत्याको प्रयास गरेका थिए । उनलाई स्थानीयले देखेपछि तत्काल सोही अस्पतालमा भर्ना गरिएको र हाल उपचाररत अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।