त्रियुगा कांग्रेसमा खड्काको पुनः इन्ट्री, सभापतिमा सर्वसम्मत


त्रियुगा । नेपाली कांग्रेस त्रियुगा नगर कार्यसमितिको नेतृत्व पुनः प्रकाशकुमार खड्का सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न १५औँ नगर अधिवेशनबाट खड्का नगर सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।

सभापतिका लागि खड्कासँगै खेमराज दाहालले पनि मनोनयन दर्ता गरेका थिए । तर, अन्तिम समयमा दाहालले उम्मेदवारी फिर्ता लिएपछि खड्काको सभापतिमा सर्वसम्मत हुने बाटो खुलेको हो ।

अधिवेशनले नगर कार्यसमितिका सबै पदाधिकारी पनि सर्वसम्मत चयन गरेको निर्वाचन समितिले जनाएको छ । उपसभापतिमा उमेश बुढाथोकी, महिला उपसभापतिमा शर्मिला थापा, सचिवमा उद्धव काफ्ले र सहसचिवमा तीर्थकुमार श्रेष्ठ चयन भएका छन् ।

पार्टी विधानअनुसार कोषाध्यक्ष भने मनोनीत हुने व्यवस्था रहेकाले नगर कार्यसमितिको आगामी बैठकबाट कोषाध्यक्ष मनोनयन गरिने नवनिर्वाचित सभापति खड्काले बताए ।

नेपाली कांग्रेसले बुधबार एकै दिन स्थानीय तहस्तरमा नगर तथा गाउँ अधिवेशन गरिरहेको छ । उदयपुरमा पनि आठवटा स्थानीय तहमा अधिवेशन हुँदैछ ।

Facebook Comments Box