उदयपुरमा रातिको समयमा सवारी आवागमन बन्द


उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले सम्भावित भारी वर्षाका कारण जिल्लाका दुई सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

नेपाल मौसम विज्ञान विभागले असोज ५ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार असोज ५ देखि ११ गतेसम्म देशभर ठूलो वर्षा हुने सम्भावना रहेको र त्यसको प्रभाव उदयपुर जिल्लामा समेत पर्ने देखिएकाले कटारी–घुर्मी र साँघुरे–रुपा सडकखण्डमा रातिको समयमा सवारी आवागमन गर्दा जोखिम बढ्न सक्ने भन्दै प्रशासनले यस्तो निर्णय गरेको हो ।

प्रशासन कार्यालयका अनुसार असोज ८ गतेदेखि असोज १२ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा उक्त सडकखण्डमा सम्पूर्ण किसिमका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले सम्भावित दुर्घटना तथा क्षति न्यूनीकरणका लागि पूर्वसतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार अत्यावश्यक सेवाका सवारीसाधनले नजिकको सुरक्षा निकायसँग समन्वय गरेर सञ्चालन गर्नसमेत अनुरोध गरिएको छ । प्रशासनिक अधिकृत पद्मराज उपाध्यायद्वारा २०८३ असोज ८ गते जारी सूचनामार्फत उक्त जानकारी गराइएको हो ।

Facebook Comments Box