ताप्लीले दियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १९ लाख ४० हजार ५ सय २९ रुपैयाँ सहयोग

रुपाटार । ताप्ली गाउँपालिकाले रसुवा जिल्लालगायत विभिन्न स्थानमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १९ लाख ४० हजार ५२९ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको बुधबार बसेको बैठकले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो । गाउँपालिकाले यस दुःखद घडीमा प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै सहयोगका लागि सबै पक्षसँग अपिलसमेत गरेको छ ।

सहयोग रकमअन्तर्गत स्थानीय विपद् कोषबाट ५ लाख रुपैयाँ, जनप्रतिनिधिहरूबाट १ लाख ६४ हजार ५०० रुपैयाँ, गाउँपालिका कार्यालय तथा मातहतका कार्यालयका कर्मचारीबाट ५ लाख ६६ हजार ३६० रुपैयाँ र गाउँपालिकाभित्रका विद्यालयका शिक्षक तथा कर्मचारीबाट ७ लाख ९ हजार ६६९ रुपैयाँ संकलन गर्ने निर्णय गरिएको छ ।

यसरी विभिन्न क्षेत्रबाट संकलन हुने रकम गरी जम्मा १९ लाख ४० हजार ५२९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने ताप्ली गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले विपद्प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग, समन्वय र एकताबद्धतामा साथ दिन सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवाला सबैमा आग्रह गरेको छ ।

Facebook Comments Box