बुत्कुस्थित माध्यमिक विद्यालयको ८ कोठे नयाँ भवन उद्घाटन


लिम्चुङबुङ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१, बाँसबोटे बुत्कुस्थित श्री माध्यमिक विद्यालयको नवनिर्मित ८ कोठे नयाँ पक्की विद्यालय भवन एक समारोहबीच उद्घाटन गरिएको छ । लिम्चुङबुङ गाउँपालिकाको लगानीमा निर्माण सम्पन्न भएको उक्त विद्यालय भवन सोमबार गाउँपालिकाका कार्यवाहक अध्यक्ष पुष्पलाल राई र लिम्चुङबुङ गाउँपालिका–१ का वडा अध्यक्ष जनदिप थापा मगर ले संयुक्त रूपमा समुद्घाटन गर्नुभएको हो ।

विद्यालयमा पर्याप्त तथा व्यवस्थित कक्षाकोठाको अभावका कारण पठनपाठन सञ्चालनमा देखिँदै आएको समस्यालाई सहज बनाउने उद्देश्यले ८ कोठे पक्की विद्यालय भवन निर्माण गरिएको हो । नवनिर्मित भवन सञ्चालनमा आएपछि विद्यार्थीहरूको पठनपाठनमा थप सहजता आउने विश्वास व्यक्त गरिएको छ । विद्यालयको भौतिक पूर्वाधार विकासका लागि लिम्चुङबुङ गाउँपालिकाको लगानीमा निर्माण गरिएको उक्त भवनका लागि २०८० साल माघ १९ गते सम्झौता भएको थियो । सम्झौताअनुसार भवन निर्माण कार्य २०८२ साल फागुन ४ गतेभित्र सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको थियो ।
उक्त ८ कोठे विद्यालय भवन निर्माणका लागि १ करोड ८० लाख ७० हजार ८३५ रुपैयाँमा ठेक्का आह्वान गरिएको थियो । ठेक्का प्रक्रियापछि भने उक्त भवन निर्माण कार्य १ करोड १२ लाख २१ हजार ३७१ रुपैयाँमा सम्पन्न गर्ने सम्झौता गरिएको थियो । नवनिर्मित भवन उद्घाटन कार्यक्रम लिम्चुङबुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष पुष्पलाल राई को प्रमुख आतिथ्यता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश राई को विशेष आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविनकुमार राई को सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरू, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविनकुमार राई तथा निमित्त प्रधानाध्यापक शिवराम राई ले नवनिर्मित भवनले विद्यालयको पठनपाठन सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

लिम्चुङबुङ गाउँपालिका–१ स्थित उक्त विद्यालयमा निर्माण गरिएको ८ कोठे पक्की भवनले विद्यार्थीहरूलाई थप सुरक्षित, व्यवस्थित र सहज वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । २०८२ साल भदौ १५ गते आयोजित समारोहबीच उक्त नवनिर्मित ८ कोठे विद्यालय भवन औपचारिक रूपमा समुद्घाटन गरिएको हो ।

Facebook Comments Box