



त्रियुगा । विभिन्न कम्युनिष्ट धारबीचको एकतापछि उदयपुरमा नेपाली कम्युनिष्ट पार्टीको १ सय ९९ सदस्यीय त्रियुगा नगर कमिटी गठन गरिएको छ । गाईघाटस्थित होटल टाउनको सभाहलमा सम्पन्न नगर कमिटी एकता भेलाले अवधेश चौधरीको संयोजकत्व र काशी कार्कीको सहसंयोजकत्वमा नगर कमिटी गठन गरेको हो ।
नवगठित नगर कमिटीका पदाधिकारी तथा सदस्यहरूले भेलामार्फत सपथसमेत ग्रहण गरेका छन् । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसांसद् सुरेशकुमार राई ‘हिमाल’ले नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई सपथ गराएका थिए । सपथ ग्रहण गराउँदै राईले पार्टी संगठनलाई जनस्तरसम्म विस्तार गर्न आग्रह गरे ।
उनले विभिन्न कम्युनिष्ट शक्तिबीचको एकताले नयाँ राजनीतिक सम्भावनाको सिर्जना गरेको उल्लेख गर्दै संगठनलाई वडा र टोल तहसम्म सुदृढ बनाउन तथा आगामी स्थानीय तह निर्वाचनको तयारीमा सक्रियतापूर्वक जुट्न कार्यकर्तालाई निर्देशन दिए । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, नेकपा (विप्लव समूह) लगायतका कम्युनिष्ट धारबीचको एकतापछि गठन भएको नेपाली कम्युनिष्ट पार्टीको नगर कमिटीले त्रियुगामा औपचारिकता पाएको हो ।
भेलामा सहभागी नेताहरूले विभिन्न कम्युनिष्ट धारबीचको एकतालाई जिल्लाको राजनीतिक परिवेशमा महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका थिए । उनीहरूले एकतापछि संगठन विस्तार, जनसम्पर्क तथा जनतामाझ पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउन सहज हुने विश्वास व्यक्त गरे ।
एकता भेलामा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मणि खम्बु, केन्द्रीय सदस्यहरू मोहन खत्री ‘दिपक’, दुर्गा परियार, खम्बराज खत्री ‘अदब’, सुनिता चौधरी, जयराम पंजियार, सिद्धान्त राई, राजकुमार राई र सविता तामाङलगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, प्रदेश कमिटी सदस्य तथा जिल्ला संयोजक विनोद खड्का, सह–इन्चार्ज द्रोण पौडेल ‘निरज’, नगर इन्चार्ज नरबहादुर कार्की, विमल किराती, गजेन्द्र राईलगायतका नेता तथा कार्यकर्ताको पनि उपस्थिति रहेको थियो ।
