



उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१० करमगाछीस्थित गाईघाट–दिक्तेल सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ । आइतबार दिउँसो करिब २ः३० बजे बरुवा क्षेत्रबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश नं. ३–०२–०१४ प ०७७५ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा साइकल चालक त्रियुगा नगरपालिका–१० एलेम्बर मार्ग बस्ने ६० वर्षीय सन्तबहादुर राई गम्भीर घाइते भएका थिए । उनको दायाँ खुट्टामा गम्भीर चोट लाग्नुका साथै नाकबाट रगत आएको र दुवै हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार उनको उपचारका क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१२ बस्ने अन्दाजी १९ वर्षीय महमत सबिव राइन घाइते भएका छन् । उनको नाकबाट रगत आउनुका साथै दुवै हात, दुवै खुट्टा र निधारमा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।