चौदण्डीगढीमा जंगली हात्तीको आतंक : दुई दिनमै १६ लाख २० हजार रुपैयाँ बराबरको क्षति

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ र ७ मा जंगली हात्तीको बथान गाउँमा पसेर घर, अन्नबाली तथा पशुपक्षीका संरचनामा ठूलो क्षति पुर्‍याएको छ । असार १३ र १४ गते राति भएको घटनामा करिब १६ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हात्तीले घरका टाटी तथा टिनका पर्खाल भत्काएर घरभित्र राखिएको धान, चामल, मकै, भाडावर्तन, लत्ताकपडा लगायतका सामग्री नष्ट गरेको छ । साथै मकैबाली, केराबारी, धानको बिउ, कुखुरा तथा परेवाका खोरमा समेत क्षति पुगेको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहा बाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा जंगली हात्तीलाई पुनः जंगलतर्फ धपाएको थियो । प्रहरीका अनुसार चौदण्डीगढी–७ लामाचौरीका खिलबहादुर मगर, वृद्धीमाया राई, बमबहादुर विक, रोशन विक, लक्ष्मी विक, वीरबहादुर मगर र राधा विक को घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको छ ।

यस्तै, वडा नं. ४ का असुन्ता राई, सारदा राई, दुर्गाबहादुर बस्नेत र सरस्वती राई को घर, अन्नबाली तथा भान्साघरमा पनि हात्तीले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक विवरणअनुसार सबै पीडितको घर, अन्नपात, भाडावर्तन, लत्ताकपडा, मकैबाली, केराबारी, धानको बिउ तथा पशुपक्षीका खोरमा भएको क्षतिको अनुमानित मूल्य १६ लाख २० हजार रुपैयाँ पुगेको छ ।

स्थानीयवासीले पछिल्ला दिनहरूमा जंगली हात्ती बारम्बार बस्तीमा प्रवेश गर्न थालेपछि जनधनको सुरक्षाका लागि सम्बन्धित निकायसँग प्रभावकारी नियन्त्रण र दीर्घकालीन व्यवस्थापनको माग गरेका छन् ।

Facebook Comments Box