उदयपुरमा सञ्चारकर्मीलाई किटजन्य तथा सरुवा रोगबारे अभिमुखीकरण


उदयपुर । स्वास्थ्य कार्यालय उदयपुरले सञ्चारकर्मीहरूलाई लक्षित गर्दै सरुवा तथा किटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य कार्यालय उदयपुरको सभा हलमा आयोजित कार्यक्रममा औलो, कालाजार, डेंगु, स्क्रब टाइफस, चिकनगुनिया लगायत विभिन्न किटजन्य तथा उदाउँदा (इमर्जिङ) रोगहरूको वर्तमान अवस्था, जोखिम, रोकथामका उपाय र नियन्त्रण रणनीतिबारे जानकारी प्रदान गरिएको थियो ।

वर्षायाम सुरु भएसँगै डेंगु लगायतका किटजन्य रोगको जोखिम बढ्ने भएकाले आम नागरिकमा सही सूचना पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने बताएका थिए । उनीहरूले रोगका लक्षण, उपचार तथा बच्ने उपायबारे तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेका थिए ।

अभिमुखीकरणका क्रममा सहभागी सञ्चारकर्मीहरूले पनि जनचेतना अभिवृद्धि तथा रोग नियन्त्रण अभियानमा सञ्चार क्षेत्रले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा स्वास्थ्य क्षेत्र, स्थानीय तह र सञ्चारमाध्यमबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै रोग नियन्त्रण तथा स्वास्थ्य सचेतना विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

स्वास्थ्य कार्यालय उदयपुरको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले सरुवा तथा किटजन्य रोगविरुद्ध जनचेतना फैलाउन सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि हुने विश्वास गरिएको छ ।

Facebook Comments Box