उदयपुरमा सुनका गरगहना र नगद चोरी आरोपमा तिन जना पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१० करमगाछीस्थित एक घरबाट नगद र सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जना महिलाहरुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार स्थानीय अनिल खड्काको घरमा कोही नभएको मौका छोपी नगद १ लाख रुपैयाँ, करिब साढै ६ तोला सुनका विभिन्न गरगहना चोरी गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको हो ।

घटनाबारे सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।कार्यालयका अनुसार पक्राउ पर्नेमा सो घरको तल्लो तलामा डेरा गरी बस्ने २३ वर्षीया सुस्मिता थापा कटुवाल र नजिकै डेरा गरी बस्ने २८ वर्षीया मिना विक पक्राउ रहेका छन् । पक्राउपछि प्रहरीले उनीहरूको कोठा तथा डेरामा खानतलासी समेत गरिएको छ ।

सोही क्रममा सुस्मिताको कोठाबाट चोरी भएको नगद १ लाख रुपैयाँ, नौगेडी, मंगलसूत्र, चन्द्रमा, औंठी, पञ्चरत्न बाला र सिक्रीसहितका सुनका गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी चोरीको रकमबाट खरिद गरिएको एक थान इनफिनिक्स मोबाइल समेत फेला परेको छ ।

यसैगरी मिना विकको डेरा नजिकै रहेको आँपको रुखको फेदबाट नगद ६३ हजार रुपैयाँ, भिभो मोबाइल, चार्जर तथा इयरपड बरामद गरिएको प्रहरीले जनाएको छ । घटनामा चोरी भएका बाँकी गरगहना अवैध रूपमा खरिद गरेको आरोपमा गाईघाट बजारस्थित बराह ज्वेलर्स की सञ्चालक ३९ वर्षीया यशोदा विक लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका तीनै जनामाथि चोरी तथा चोरीका सामान खरिद–बिक्री सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Facebook Comments Box