उदयपुरमा जन्मदिनको भोज खाएपछि २७ जना बिरामी

त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका–७ नमुना चोकमा जितेन्द्र राईको घरमा गत साउन २१ गते राति ९ बजे जन्मदिनको अवसरमा आयोजित भोजमा सहभागी भएकाहरू मध्ये २७ जना मानिस बिरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, भोजमा रोटी, अचार, पुरी, बुनिया, पुवा लगायतका परिकारहरू सेवन गरेपछि बिरामीहरूलाई झाडापखाला र बान्ता लागेको थियो। बिरामीमध्ये ३ जना पुरुष, ११ जना महिला, ५ जना बालक र ८ जना बालिका छन् ।

सबै बिरामीलाई मिति २०८२ साउन २२ गते राति ८ बजे उदयपुर जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका रिपोर्ट अनुसार २६ जना बिरामीहरू उपचारपछि डिस्चार्ज भइसकेका छन् भने एक जना बालकको उपचार जारी छ र उनको अवस्था सामान्य रहेको जनाइएको छ । प्रहरीले खाद्य विषाक्तताको आशंकामा घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

Facebook Comments