



उदयपुर । साहारा लगायत विभिन्न वित्तीय शोषण र महिलामाथि हुने अन्यायविरुद्ध उदयपुरमा मंगलवार विरोध प्रदर्शन भएको छ । विरोध कार्यक्रम जिल्लाका वित्तीय संस्थाहरुबाट पीडित महिलाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले गाईघाट बजारदेखि प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर धर्ना समेत बसेका थिए ।
कार्यक्रममा विभिन्न महिला समूह र सर्वसाधारणको सहभागिता थियो । विरोध कार्यक्रममा सहभागीहरुले “महिला अधिकारको लागि संघर्ष गरौं”, “वित्तीय शोषण बन्द गर”, “ऋणग्रस्त महिलालाई न्याय दे” जस्ता नारासहित प्रदर्शन गरेका थिए । उनीहरुले सरकारले तत्काल कदम चाल्नुपर्ने माग राखेका छन् ।
वित्तीय अत्याचारविरुद्धको महिला सञ्जाल नेपाल र वित्तीय शोषण विरुद्धको सरोकार समिति मञ्च, नेपालका तर्फबाट प्रदर्शनमा दुईवटा ब्यानर प्रदर्शन गरिएको थियो । महिला सञ्जाल नेपालको ब्यानरमा सबै प्रकारका वित्तीय अत्याचार अन्त्य गर्न, ऋणग्रस्त महिलालाई राहत दिन, साहु–महाजनको शोषण रोक्न, पीडित महिलालाई क्षतिपूर्ति उपलब्ध गराउन तथा आर्थिक अधिकारको सुनिश्चितताका लागि राज्यले ठोस कदम चाल्नुपर्ने माग गरिएको थियो ।
त्यस्तै, सरोकार समिति मञ्चको ब्यानरमा उच्च व्याजदर र गैरकानुनी असुली बन्द गर्न, ऋणग्रस्त जनताको सम्पूर्ण ऋण माफी गर्न, सूदखोरमाथि कानुनी कारबाही गर्न, पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र आर्थिक समानताका लागि जनआन्दोलनमा जुट्नुपर्ने सन्देश दिइएको थियो । कार्यक्रममा सहभागीहरुले चेतावनी दिँदै सरकारको ध्यानाकर्षण गराएका छन् कि माग पुरा नभएमा अझ कडा आन्दोलन गर्नेछन् । कार्यक्रममा केन्द्रीय, प्रदेश र जिल्लाका आन्दोलनकारी महिला नेताहरुले मन्तव्य राखेका थिए ।