त्रियुगा नगरपालिकालाई रास्वपाको सुझावसहितको ध्यानाकर्षण, लेखापरीण प्रतिबेदनमा देखिएको बेरुजु रकम तत्काल असुलउपर गर्न समेत उल्लेख

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरले त्रियुगा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२ र ८३ का लागि नीति, कार्यक्रम तथा बजेटमा समेटिनुपर्ने २५ बुँदे सुझावसहित ध्यानाकर्षण पत्र बुझाएको छ । नगर प्रमुख प्रशासकीय अधिकृत रामकुमार कोइरालालाई बुझाइएको उक्त पत्रमार्फत नगरमा देखिएका समस्याहरूको दीर्घकालीन समाधान खोज्न तथा बजेटलाई जनमुखी बनाउन आग्रह गरिएको हो ।

रास्वपाले नीति तथा कार्यक्रम निर्माणमा आम नागरिकका आवश्यकता प्राथमिकतामा राखिनुपर्ने बताएको छ । ध्यानाकर्षण पत्रमा अघिल्ला आर्थिक वर्षहरूमा देखिएको बेरुजु रकम तत्काल असुलउपर गरी समग्र नगरको हितमा प्रयोग गर्नुपर्ने, खर्च नियन्त्रण गरी विकासखर्चमा वृद्धि गर्दै वित्तीय अनुशासन कायम गर्नुपर्ने, बजेटलाई उत्पादनमूलक, रोजगारी सिर्जना गर्ने र दीगो विकासलाई प्राथमिकता दिने खालको बनाउनुपर्ने सुझावहरू उल्लेख छन् ।

यस्तै, नगरमा बढ्दो फोहोरलाई व्यवस्थापन गर्दै मोहर (उपयोगी वस्तु)मा रूपान्तरण गर्न सकिने योजना ल्याउनुपर्ने, अनावश्यक रूपमा इन्धन खर्च गर्ने कार्य रोक्नुपर्ने, साथै नागरिकले जन्म, मृत्यु र बसाइँसराइ सिफारिसको प्रतिलिपीका लागि तिर्नुपर्ने ५०० रुपैयाँ शुल्क हटाई निःशुल्क सेवा दिनुपर्ने सुझाव पनि समावेश गरिएको छ । पार्टी नगर अध्यक्ष उत्तम रिजालको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षण पत्र बुझाएको थियो। उनीहरूले समावेश गरिएका सुझावहरू नगरवासीको हितमा रहेको बताउँदै नीतिगत तहमा समावेश गर्न आग्रह गरेका छन् ।

भिडियोः

Facebook Comments