



उदयपुर । ट्राफिक जनचेतना अभिवृद्धि तथा सडक सुरक्षा प्रवर्द्धन गर्ने उद्देश्यले उदयपुरमा ट्राफिक सप्ताह २०८२ को औपचारिक उद्घाटन गरिएको छ । एक विशेष समारोह बीच ट्राफिक प्रहरी कार्यालय उदयपुरको आयोजनामा सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरिएको हो । शुभारम्भको क्रममा पिपलचोकदेखि त्रियुगा बसपार्कसम्म प्रभातफेरी समेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार तथा नागरिक समाजका व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
समारोहमा बोल्ने वक्ताहरूले ट्राफिक नियमको पालना नगरिँदा हुने दुर्घटनाहरू र त्यसले निम्त्याउने जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सडक सुरक्षामा सबैको सहभागिता आवश्यक रहेको बताए । कर्यक्रममा ट्राफिक सचेतना अभियान अन्तर्गत विभिन्न सचेतनामूलक क्रियाकलाप, सडक प्रयोगकर्ताका लागि प्रशिक्षण, विद्यार्थी तथा सवारी चालकहरूलाई लक्षित सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी गराइयो ।
ट्राफिक सप्ताहको अवसरमा विभिन्न शैक्षिक संस्था, यातायात संघ, गैरसरकारी संस्था तथा सञ्चारमाध्यमसँग सहकार्य गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिने बताइएको छ।