



गजेन्द्र राई
किरात राई समुदायको महान सांस्कृतिक पर्व साकेला उभौलीको अवसरमा “गीता राई स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिता” शनिवार अर्थात् जेष्ठ ३१ गते भव्य आयोजना हुने भएको छ । सो प्रतियोगिता गाईघाटस्थित साकेला थानमा आयोजना हुन लागेको हो । ।
किरात राई यायोख्खा त्रियुगा नगरपालिका ११, १२, र १३ वडा कार्य समितिका अध्यक्ष सर्वधन राईका अनुसार, साकेला उभौली पर्वको समापनसँगै स्मृति प्रतियोगिता आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रमले किरात समुदायको मौलिक संस्कृति संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा उदयपुर जिल्लाभित्रका विभिन्न स्थानहरूबाट साथै जिल्ला बाहिर मोरङ, सुनसरी लगायतका जिल्लाबाट समेत सहभागीहरूको उपस्थिति रहनेछ । कार्यक्रमलाई अझ भव्य र ऐतिहासिक बनाउन स्थानिय तहका निकाय, समाजसेवी तथा युवा वर्गको पनि उल्लेखनीय सहयोग रहने आयोजक समितिले जनाएको छ।
साकेला नाच, किरात संस्कृति, तथा गीता राईको स्मृतिमा समर्पित यो प्रतियोगिता सांस्कृतिक विविधता र समुदायबीच एकताको सन्देश फैलाउने उद्देश्यका साथ आयोजना गरिएको हो । आयोजकले सम्पूर्ण क्षेत्रवासी र संस्कृति प्रेमीहरूलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरेका छन् ।
भिडियोः