उदयपुरबाट कक्षा १२ को परीक्षामा ५ हजारभन्दा बढी परीक्षार्थी सहभागी

उदयपुर ।  देशभर सुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा उदयपुर जिल्लाबाट ५ हजार २६१ विद्यार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरकी प्राविधिक सहायक मैनाकला लिम्बुका अनुसार जिल्लामा लिम्चुङबुङ र ताप्ली बाहेकका ६ पालिकामा १७ परीक्षा केन्द्र तोकिएका छन् ।

सबैभन्दा धेरै परीक्षा केन्द्र त्रियुगा नगरपालिकामा रहेका छन्, जहाँ ८ वटा परीक्षा केन्द्र सञ्चालनमा छन् । ती केन्द्रहरूमा त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा, रामजानकी मावि मोतिगडा, जनता मावि देउरी, अम्वेवर मावि राजावास, जनज्योति मावि चुहाडे, त्रियुगा मावि गाईघाट, राष्ट्रिय मावि बगाहा र बाल मन्दिर मावि बोक्से समावेश छन् ।

अन्य परीक्षा केन्द्रहरू कटारीको त्रिवेणी मावि र गुँरासे मावि, बेलकाको कोशी जनता मावि र जनता मावि गुरुङ चौरी, चौदण्डीगढीको नारद आदर्श मावि वसाहा, थान पोखरी मावि ज्यामिरे र ज्योति मावि बेल्टार, रौतामाईको मावि मुर्कृची र उदयपुरगढीको पञ्चावती मावि रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरबाट नियमिततर्फ ३ लाख ९५ हजार ९०८ र आंशिकतर्फ १ लाख १५ हजार ६१७ परीक्षार्थी गरी कुल ५ लाख ११ हजार ५२५ विद्यार्थी परीक्षा दिइरहेका छन् । परीक्षा बिहान ७ बजेबाट सुरु भएको हो ।

Facebook Comments