उदयपुर त्रियुगा संगीत विद्यालयलाई सांगीतिक सामाग्री हस्तान्तरण

त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर–१२, साधानाटोलस्थित संगीत विद्यालयलाई, संगीत प्रवर्धनका लागि, महत्वपूर्ण सांगीतिक सामाग्री हस्तान्तरण गरिएको छ । उदयपुर संगीत केन्द्रद्वारा सञ्चालित सो विद्यालयमा, संगीत कला प्रवर्धनलाई, अझ सशक्त बनाउने उदेश्यले, ६ वटा हार्मोनियम र एक थान मादल प्रदान गरिएको हो ।

उक्त सांगीतिक सामाग्री हस्तान्तरणको मुख्य उद्देश्य, विद्यार्थीहरूलाई, संगीत सिकाइमा सहजताको लागि उपलब्ध भएको, विद्यालयका प्रबन्ध निर्देशक शैलेन्द्र खतिवडाले बताए । प्रबन्ध निर्देशक खतिवडाले बताएअनुसार, सामाग्री उपलब्ध विभिन्न संघसंस्थाका प्रतिनिधि र व्यापारीहरूले गराएका हुन् ।

जसमा गाईघाटका प्रतिष्ठित व्यापारी सुबोध ठाकुर, भुपेन्द्र शर्मा, अर्जुन रेग्मी, विमल कम्पनी काठमाडौं लगायतले एक–एक थान हार्मोनियम प्रदान गरे भने प्रकाश खत्रीले एक थान मादल प्रदान गरेका छन् । प्रदान गरिएको सामाग्रीको कुल मूल्य करिब १ लाख ६० हजार रूपैयाँ रहेको छ ।

हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेकी प्रदेश सांसद् सम्झना तामाङले सांगीतिक शिक्षा क्षेत्रमा थप लगानी र सहयोग आवश्यक रहेको उल्लेख गर्दै, विद्यार्थीहरूलाई संगीतमार्फत आत्मनिर्भर बनाउने प्रयास जारी राख्नुपर्ने बताए । सामाग्री हस्तान्तरणले स्थानीय संगीत शिक्षा र सांगीतिक कलालाई अझ सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्यााउने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोईराला, त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रमुख डाक्टर कैलाशकुमार राई, वडाअध्यक्ष सुमन्त कोईराला, नवीन कुमार वान्तवा, यूनाईटेड वर्ड साईन नेपालका प्रमुख श्याम बस्नेत, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइली, महासचिव दिनेश श्रेष्ठ, पत्रकार महेश्वर चाम्लिङ, गजेन्द्र राई लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो ।

Facebook Comments