



काठमाडौँ, २१ वैशाख । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले महानगरपालिकाको चुनावमा दुईवटा महानगरमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालका अनुसार भरतपुरमा प्रचण्डकी छोरी रेणु दाहाललाई भरतपुरमा मेयरमा जिताउन सघाउने सहमति भएको छ भने माओवादीले कांग्रेसलाई पोखरामा मेयरमा जिताउन सघाउने सहमति भएको छ ।
पोखरामा काँग्रेसबाट रामजी कुँवर मेयरमा तथा सरस्वती गुरुङ उपमेयरमा उठेका छन् । पोखरामा माओवादीबाट मेयरमा विश्वकप्रकाश लामिछाने र उपमेयरमा गोमा ढकाल उठेका छन् ।
माओवादीबाट भरतपुरमा रेणु दाहाल र उपमेयरमा सुरेन्द्र गुरुङ तथा त्यहाँ कांग्रेसबाट मेयरमा देवी ज्ञवाली तथा उपमेयरमा दिव्य शर्मा रहेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी सचिव वर्षमान पुन लगायत नेताहरुबीच तालमेलका लागि छलफल भएको थियो ।
माओवादीले चारवटै महानगरमा दुई–दुई वटा लिने गरी तालमेल गर्ने प्रस्ताव गरे पनि दुईवटामा सहमति भएको स्रोतको भनाई छ ।
यसअघि नेकपा एमाले र राप्रपाबीच काठमाडौँ र ललितपुरमा चुनावी तालमेल गर्ने सहमति भएको थियो ।