त्रियुगाको कामकाज प्रभावित भएको भन्दै सत्तारुढ ६ दलको असन्तुष्टि (विज्ञप्ती सहित)

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर कामकाज प्रभावित भएको विषयलाई लिएर सत्तारुढ दलहरुको गम्भीर असन्तुष्टि सतहमा आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेर अर्को पठाए पनि नगरले हाजीर नगराएका कारण नगरबासीको सेवा प्रवाहमा गम्भीर प्रभाव परेको भन्दै स्थानीय ६ राजनीतिक दलले विज्ञप्ती प्रकाशित गरी तत्काल कामकाज सुचारु गर्न माग गरेका हुन् ।

आईतबार सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजबादी पार्टी), जनता समाजबादी पार्टी (जसपा), लोकतान्त्रिक समाजबादी (लोसपा) र राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का त्रियुगा नगर कमिटीहरुले एक संयुक्त विज्ञप्ती जारी गर्दै तत्काल कामकाज सुचारु गर्न माग गरेका हुन् । गएको माघ २७ गते मन्त्रालयले त्रियुगाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरी स्वीकृत दरबन्दी अनुसार उपसचिवलाई कार्यालय प्रमुखको रुपमा पठाएकोमा नगरप्रमुखले हाजीर नगराएका कारण नगरपालिकाको सेवा प्रवाहमा अवरोध आएको उनीहरुको ठहर छ ।

नयाँ हाकिमलाई हाजीर नगराइएका कारण विगत २ महिनादेखि नगरवासीले पाउनु पर्ने सेवा प्रवाह हुन नसकेको तथा अन्य थुप्रै कामकाज प्रभावित हुन पुग्दा जनताले सास्ती भोग्नु परेको उनीहरुको विज्ञप्तीमा उल्लेख छ । स्थानीय सरकारबाट प्रवाह गर्नुपर्ने सेवा छिटोछरितो, चुस्त दुुरुस्त र प्रभावकारी बनाउँदै सुशासनको अनुभूति गराउनु पर्नेमा जोड दिदै विज्ञप्तीमा जारी गरिएको हो । विज्ञप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजीर नगराउदा त्यस्ता सबै सेवाबाट जनता वञ्चित हुनु परेको समेत औँल्याइएको छ ।

नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजीर नगराइएकै कारण २ महिनादेखि जनताले पाउने नियमित सेवा अवरुद्ध हुनुका साथै बैंक खातासमेत रोक्का हुन पुग्दा नगरको आर्थिक पाटोसमेत ठप्प भएर विकास निर्माणका योजनामा गम्भीर प्रभाव परेको पनि विज्ञप्तीमा जनाइएको छ । यस्तो समस्याको तत्काल निकास निकालेर सेवा सुचारु गर्न पनि विज्ञप्तीमा माग गरिएको छ । विज्ञप्तीमा जनाए अनुसार हाकिमलाई हाजीर नगराइएका कारण नगरसभाबाट स्वीकृत वार्षिक कार्यक्रमहरु विकास निर्माणका सयौँ योजनाहरु प्रभावित भएका छन् ।

वडा तथा नगरसभाले पारित गरेका विभिन्न योजनाहरुको सम्झौता, निर्माण, अनुगमन र भुक्तानी गर्ने कामहरु रोकिन पुग्दा विकास निर्मणमा गम्भीर असर परेको भन्दै विज्ञप्तीमा एउटा कर्मचारीको हकमा नगरपालिका यसरी अल्झिनु अत्यन्त दुःखदायी घट्ना भएको उल्लेख छ । आर्थिकवर्ष (असार मसान्त) आउन ३ महिना मात्र बाँकी रहेको यो समय धमाधम काम गर्ने अत्यन्त महत्वपूर्ण समय भए पनि हाकिमलाई हाजीर नगराउदा १६ वटै वडा र समग्र नगरपालिकाको बजेट कार्यान्वयनमा गम्भीर बाधा उत्पन्न भएको पनि उनीहरुको तर्क छ ।

संयुक्त विज्ञप्तीमा माओबादी त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राई, काँग्रेस नगर सभापति प्रकाश खड्का, एकीकृत समाजबादी अध्यक्ष जनार्दन रेग्मी, जसपा अध्यक्ष नवराज मगर, रास्वपा प्रतिनिधि उद्धव अधिकारी र उत्तम रिजाल तथा लोसपा अध्यक्ष खुसीलाल ठाकरले हस्ताक्षर गरेका छन् । स्थानीय सरकार सदैव नगरबासीप्रति जिम्मेबार, पारदर्शी र जनमैत्री भएर सुशासनको अनुभूति दिलाउनु पर्ने माग पनि विज्ञप्तीमार्फत उनीहरुले गरेका छन् ।

त्रियुगाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनलाई मन्त्रालयले गत माघ २७ गते सरुवा गरी उपसचिव सञ्जय राजलबटलाई पठाएको थियो । मन्त्रालयको कदमप्रति नगरप्रमुख बसन्तकुमार बस्नेतले असहमति जनाउँदै चालु आर्थिक वर्षको अन्त्यसम्म पुरानै कार्यालय प्रमुखबाट काम गर्ने अडान लिएर वनलाई रवाना दिएनन् न त राजलबटलाई हाजीर हुन नै दिए ।

दुईपटकसम्म हाजीर हुन आएका राजलबटलाई हाजीर गराउनुको साटो मेयर बस्नेतले संविधानको मर्मत र भावना अनुसार नगरपालिकासँग समन्वय र सहकार्य नगरी हाकिम सरुवा गरेकाले असहमति जनाउँदै हाजीर गराउन नसक्ने पत्र लेखेर बोधार्थ राजलबटलाई पनि थमाए । मन्त्रालयले तोकिए बमोजिम हाजीर गराउन र सरुवा भएका वनलाई रवाना लिएर मन्त्रालयमा जानकारी गराउन भन्दै फागुन ३ गते ताकेतापत्र लेख्यो ।

तर, निर्देशन लत्याउँदै आर्थिक कारोबारसमेत जारी राखेको भन्दै चैत ९ गते मन्त्रालयले अर्को पत्र लेख्दै नगरपालिकाको आर्थिक कारोबार नयाँ कार्यालय प्रमुखबाट मात्र सञ्चालन गर्ने निर्देशन दिदै सो कुराको बोधार्थ कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) लाई दिएयता आर्थिक कारोबारसमेत ठप्प छ । हाकिम नहुँदा नयाँ योजनाहरुको सम्झौता, निर्माणाधीन योजनाको अनुगमन र सम्पन्न भएकाहरुको भुक्तानीजस्ता सबै रोकिएपछि नगरपालिकामा चौतर्फी असर परेको ६ दलीय विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तीभिडियोः

Facebook Comments