एमाले ज्ञानेन्द्रलाई सिंहासनमा फर्काउन सक्रिय छः किराँती

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले संविधानलाई असफल बनाएर राजा फकाउने षडयन्त्रमा प्रमुख प्रतिपक्षी दल एमाले लागेको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा नेता किराँतीले एमालेले मुलुकको निकासको लागि ल्याईएको संशोधन विधेयकको विरोध गरेर नाटक मञ्चन गरिरहेको आरोप लगाए । उनले भने, “वास्तवमा एमालेले निर्वाचन नै चाहेको छैन भन्ने कुराको पुष्टि भएको छ, निर्वाचन निर्वाचन भनेर बाहिर कराउने, तर भित्री रुपमा निर्वाचन एमालेले नचाहेको हो कि भन्ने प्रश्न उब्जिएको छ ।”

उनले एमाले नेतृत्वको रवैया नै बेठीक रहेको टिप्पणी गरे । उनले भने, “एमालेले गणतन्त्रलाई नै समाप्त पार्न खोज्दैछ ।”

उनले एमाले अध्यक्ष ओलीले विगतमा पनि संघीयता र गणतन्त्रलाई आफूहरुले बाध्यताले स्वीकार गरेको बताईसकेको उल्लेख गर्दै भने, “अहिले एमाले नेतृत्वले गणतन्त्रलाई समाप्त पार्न खोजेको त होईन ?”

उनले अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टीकै भएकोले उनले आफ्नी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोलाएको तर दलका नेताहरुलाई बेवास्ता गरेको आरोप लगाउँदै भने, “यस्तो क्रियाकलाप र तारतम्य हेर्दा, ज्ञानेन्द्र शाहलाई सिंहासनमा राख्ने खेल एमालेले गर्दैछ ।”

उनले अघि भने, “सके सिधै सिंहासनमा ज्ञानेन्द्र शाहलाई राख्ने, नसके चुनाव भाँड्ने, चुनाव भाँड्नपनि सकिएन भने चुनावमा राष्ट्रपति ज्ञानेन्द्रलाई बनाउने, र फेरि राजतन्त्र पूनस्र्थापित् गर्ने यो क्रियाकलापमा एमाले लागेको छ ।”

उनले त्यही उद्देश्यको लागि एमालेले अहिले खोचे थाप्ने काम गरिरहेको समेत आरोप लगाए । किराँतीले एमालेको यो क्रियाकलाप प्रतिक्रान्तिकारी क्रियाकलाप भएको भन्दै भत्र्सर्ना समेत गरे ।

निर्वाचन काठमाडौंमा आएको गणतन्त्रलाई गाउँसम्म पुर्याउने माध्यम भएकोले अहिले सरकारले घोषणा गरेको बैशाख ३१ र जेठ ३१ को दुई चरणको स्थानीय तहको निर्वाचनलाई सफल बनाउनुपर्ने बताउँदै यसलाई पूर्ण रुपमा सफल बनाउनको लागि वर्तमान सरकार केन्द्रित रहेको किराँतीको दाबी थियो । उनले भने, “घोषित मितिमै निर्वाचन हुनुपर्छ ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *