कोशी प्रदेश नामाकरण बिरोधको क्रममा मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश नामाकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेको र चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि पनि आह्वान गरेको छ । यही चैत ५ गते विराटनगरमा नामाकरणको विषयमा भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट ४२ वर्षीय पदमबहादुर लिम्बुको मृत्यु भएको थियो ।

Facebook Comments