श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

युवा साहित्यकार समेत रहेका गीतकार श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन् ।

राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन् । ६ मिनेटको गीतको अडियो ओसन म्यूजिक नेपालको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ । ‘सञ्चो छ कि रोदन’मा स्वर दिएकी मनमा बी खोटाङकै उदीयमान गायिका हुन् ।

१० बर्से शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका खोटाङ स्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पा, चिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन् । गीतकार राई बालकथा,लघुकथा, हाइकु, मुक्तक, गजल, कविता जस्ता विविध विधामा उत्तिकै कलम चलाउँछन् ।

उनका बालकथासंग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन् । संयुक्त लघुकथासंग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँचवटा र ‘संयोग’ २०७९ मा उनका तीनवटा लघुकथा समावेश छन् भने उनको लघुकथासंग्रह प्रकाशनको तयारीमा छ । रावासावा प्राज्ञिक समाज नेपालका सदस्य राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुन् ।

Facebook Comments