उदयपुर । अपाङ्गता सम्बन्धि बनेका कानुन र भईरहेका प्रयासका बारेमा यहाँका सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिका मन्त्रालय र त्रियुगा नगरपालिकाको सहयोगमा त्रियुगा बौद्धिक अपाङ्गताका अभिभावक संघले सदरमुकाम गाईघाटमा कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले शारिरीकरुपले अशक्त, अपाङ्गताहरुको वर्गिकरण अनुसारको परिचयपत्र वितरण गर्न आफुहरु घरमै पुग्ने बताईन् । उनले भनिन्, ‘म उपमेयर निर्वाचित भएर कार्यालय प्रवेश गरेकै दिन अवश्था हेरी चिकित्सकसहितको टोली घरमै पुगेर कार्ड वितरण गर्ने निर्णय गरेको छु, अव कार्यान्वयन हुन्छ ।
उनले अपाङ्गता परिचयपत्र लिन कार्यालय धाउन नसक्ने भएकाले यस्तो निर्णय लिएको बताईन् । कार्यक्रममा अन्य सरोकारवालाहरुले बनेका कानुन कार्यान्वय नहुँदा अझै पनि अपाङ्गता भएका व्यक्ति र परिवारले राज्यको सेवासुबिधा सहजरुपले पाउन नसकेको बताए ।
उनीहरुले शारिरीकरुपले अशक्त अपाङ्गताहरुलाई राज्यले समान सहभागिता जनाउँदै क्षमता अनुसारका कामहरु दिनु पर्ने धारणा राखेका थिए । उनीहरुले बनेको कानुन कार्यान्वयनमा जोड दिएका थिए । कार्यक्रममा बौद्धिक अपाङ्गता अभिभावक संघका केन्द्रिय अध्यक्ष राजु बस्नेतले संबिधानमा लेखिएका शब्द, बनेका कानुनका बारेमा सहजिकरण गरेका थिए ।
उनले बनेका कानुन कार्यान्वयन चरण फितलो रहेको बताए । अपाङ्गताहरुको हकअधिकारका सवालमा संबिधानले प्रष्ट बोलेपनि त्यसको व्याख्या गर्ने र कार्यान्वयन गर्ने निकायले सहजिकरण नगरिँदा अझै पनि प्रतिफल पाउन नसकेको बताए ।
त्रियुगा बौद्धिक अपाङ्गताका अभिभावक संघका अध्यक्ष विकेन्द्र दनुवारको अध्यक्षता र सचिब भवानी कट्टेलको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, त्रिनपा १ का वडाध्यक्ष मनोजक चौधरी, राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सिता पौड्ेल लगायतले बोलेका थिए ।