यस्तो छ दोस्रो चरणको चुनावी कार्यतालिका, पहिलो चरणको चुनावी कार्यतालिका पनि हेरफेर

electionnकाठमाडौं, १३ बैशाख । दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता जेठ १९ गते हुने भएको छ । सरकारले आइतबार मात्र दुई चरणमा चुनाव गर्ने निर्णय गर्दै जेठ ३१ को मिति तोकेको थियो, जस अनुसार प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा चुनाव हुनेछ । पहिलो चरणको चुनाव भने बैशाख ३१ मै हुनेछ ।

निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । जेठ १९ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारले विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनपत्र दर्ता गर्नु पर्नेछ ।

२० गते उम्मेदवारको विरोधमा उजुरी दिने र मनोनयन पत्र जाँच हुनेछ । विहान १० बजेदेखि १ बजेसम्म उजुरी दिने समय तोकिएको छ । १ बजेदेखि भोलिपल्ट साढे ११ बजेसम्म मनोनयन पत्र जाँच गर्ने समय तोकिएको छ ।

२१ गते उम्मेदवारको नामावली प्रकाशित हुनेछ । उम्मेदवारी फिर्ताका लागि दिउँसो १ बजेदेखि ५ बजेसम्म तोकिएको छ । २२ गते उम्मेदवारको अन्तिम सूची प्रकाशित हुनेछ र त्यही दिन निर्वाचन चिह्न पनि प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

जेठ ३१ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म दोस्रो चरणको मतदान हुनेछ ।

निर्वाचन आयोगले सरकारको आग्रहमा पहिलो चरणको निर्वाचन कार्यतालिका पनि हेरफेर गरेको छ । उम्मेदवारी दर्तादेखि चुनाव चिन्ह प्रदानसम्मको सबै कार्यक्रम ३ दिन पछि सारिएको छ । यसले उम्मेदवारहरुले चुनाव प्रचारका लागि पाउने समय कम गराउँछ ।

अब बैशाख १९ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । यसअघि १८ गते थियो । उजुरी दर्ताको समय २० गते तोकिएको छ भने उम्मोदवारको सूची २१ गते प्रकाशित हुनेछ । उम्मेदवारी फिर्ताको समय पनि त्यही दिन तोकिएको छ ।

२२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ र त्यही दिन उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

बैशाख ३१ गते विहान ७ बजेदेखि साँझ ५ बजे मतदान हुनेछ ।

आचार संहिता स्थगित

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन हुने प्रदेशहरुमा निर्वाचन आचार संहिता स्थगित गरेको छ । साथै मतदाता शिक्षा कार्यक्रम पनि स्थगित भएको छ ।

नयाँ आचार संहिता केही दिनमा लागू हुनेछ । जिल्ला जिल्लामा पुगेको मतपत्र, मतदाता परिचय पत्र लगायतका सामाग्रीको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *