उदयपुर । उदयपुर प्रहरीद्धारा जिल्लामा रहेको आठ स्थानीय तह र त्यस मातहतमा रहेको ७५ वडा कार्यालयहरुमा ‘सुझाव तथा गुनासो पेटिका’ स्थापना गरेका छन् । सो पेटिका जिल्लामा रहेका चार नगरपालिका र चार गाउँपालिका र त्यस मातहतमा रहेको ७५ वडा कार्यालयहरुमा स्थापना गरेका हुन् ।
उक्त सुझाव तथा गुनासो पेटिका सर्वसाधारण जनताहरुले आ–आफनो ठाँउबाट लिखित रुपमा प्रहरीले गरेको कार्य सम्बन्धि सुझाव तथा गुनासो सहज रुपमा राख्न सकुन भन्ने उद्देश्यले राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताए । डिएसपी गौतमका अनुसार नगरपालिका, गाउँपालिका र ७५ वडा कार्यालयहरु गरी जम्मा ८३ ठाउँमा ‘सुझाव तथा गुनासो पेटिका’ राखिएको छ ।
‘प्रहरी कार्य सम्बन्धि सुझाव तथा गुनासो पेटिका’मा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुले सम्पादन गर्ने काम कार्वाहीको बिषयमा व्यक्तिगत तथा संस्थागत गुनासो, सल्लाह र सुझाव समेत दिन सकिने छ । गुनासो पेटिका मार्फत आउने गुनासो, सल्लाह र सुझावले प्रहरीलार्ई कार्यसम्पादनमा सहयोग पु¥याउने डिएसपी गौतमको भनाई छ ।
यसै अभियान अन्तरगत सदरमुकाम गाईघाट स्थित त्रियुगा नगरपालिकामा पेटिका स्थापना गर्न जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोरा, प्रहरी नायव उपरीक्षक (डिएसपी) बेद गौतम, प्रहरी निरीक्षक (ईस्पेक्टर) महोन थापा, लालबहादुर श्रेष्ठ, प्रहरी नायव निरीक्षक (सई) गंगाराम राई, प्रहरी सहायक निरीक्षक (असई) श्याम कार्की, नगर प्रहरी प्रमुख (असई) घनश्याम पोखरेल र प्रेस सेन्टर नेपाल प्रदेश नम्बर १ का सचिब गजेन्द्र राई लगायत अन्य अतिथिहरुको उपस्थिति समेत रहेको थियो ।