थामखर्क विमानस्थल कालोपत्रे गर्न सुरु

खोटाङ, ११ वैशाख । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल कालोपत्रेको काम अगाडि बढेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणको नौ करोड २५ लाख २९ हजार सहयोगमा सम्पन्न गर्ने गरी थालिएको विमानस्थलको कालोपत्रेका लागि अहिले ग्राभेलिङको काम भइरहेको छ ।

महिना दिनअघिबाट ग्राभेलिङ थालिएको विमानस्थलमा आगामी दसैँ अगाडि उडान सुचारु गरिने ठेकेदार कम्पनी रौता कन्ट्रक्सन प्रालिले जनाएको छ । २०५६ सालबाट उडान सुरु गरिएको विमानस्थल कालोपत्रे नहुँदा वर्षायाम लागेसँगै अवरुद्ध हुने र हिउँदभर मात्र सञ्चालन हुने गरेको छ । विमानस्थल कालोपत्रे भएपछि भने, दक्षिणी क्षेत्रका स्थानीय तथा छिमेकी जिल्ला भोजपुरका सर्वसाधारणले समेत सेवा पाउने छन् ।

यातायातको सुविधा नपुगेको दक्षिणी क्षेत्रमा रहेको विमानस्थल हरेक वर्ष वर्षात्को समयमा अवरुद्ध हुने गरेको छ । बाह्रै महिना उडान नहुने भएका कारण त्यस क्षेत्रका सर्वसाधारणले बिरामी भएको समयमा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ ।

कालोपत्रेसँगै नियमित उडानको प्रबन्ध भए त्यस क्षेत्रका सर्वसाधारणलाई राजधानी काठमाडौँलगायत तराईका जिल्लासम्म पुग्न सहजता मिल्नेछ । कालोपत्रे थालिएको थामखर्क विमानस्थलमा चैत २१ गतेदेखि उडान अवरुद्ध रहेको नेपाल एयरलायन्सका स्टेसन मेनेजर नरेन्द्र उदासले जानकारी दिए ।

दुई निर्वाचन क्षेत्र रहेको खोटाङमा तीन वटा विमानस्थल रहेका छन् । क्षेत्र नम्बर १ मा लामीडाँडा र क्षेत्र नम्बर २ मा खानीडाँडा र थामखर्क विमानस्थल छन् ।

सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थल कालोपत्रे भइसकेको छ भने, क्षेत्र नम्बर १ मा पर्ने लामीडाँडा विमानस्थलमा कालोपत्रे नभए पनि बाह्रै महिना उडान हुने गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *