नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्का को हुन् ?

विसं. २००५ साल चैत ७ गते भोजपुरमा स्वर्गीय चित्रबहादुर र धर्मकुमारी खडकाको कोखबाट जन्मेका नवनियुक्त परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले भारतको पुनेबाट अर्थशास्त्रमा विधावारधी (पीएचडी) गरेका छन् ।

खड्काले २०२३ बाट नेपाली काँग्रेसको राजनीति थालेका थिए । विद्यार्थी संगठनबाट राजनीतिमा आएका खड्का विराटनगर र काठमाडौँमा पटक–पटक पक्राउ परेका थिए । उनले लामो समय काँग्रेस संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईका विश्वास पात्रका रूपमा काम गरे ।

कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा खड्का उनको प्रमुख राजनैतिक सल्लाहकार भएका थिए । उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन् । काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला  प्रधानमन्त्री    हुँदा  खड्का सहरी विकास मन्त्री भएका थिए ।

२०५६ को चुनावमा पराजित भएका खड्काले त्यसपछि पछाडि फर्किनु परेको छैन । ०६४ सालको संविधानसभामा उदयपुरको क्षेत्र न १ बाट खड्का विजयी भएका थिए  । त्यसबेला उनले माओवादी केन्द्रका राजन किराँतीलाई पराजित गरी संसदीय यात्रा तय गरेका थिए ।

यस्तै २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उदयपुर १ नम्बर क्षेत्रबाटै खड्काले विजय हासिल गरेका थिए । ०७४ मा बाम गठबन्धन बनेपछि काँग्रेसका घाघडान नेता पराजित हुँदा पनि उदयपुर क्षेत्र नम्बर १ बाट खड्का प्रतिनिधिसभामा निर्वाचित भए । वाम गठबन्धनबाट उम्मेदवार बनेकी एमालेकी मञ्जु चौधरीलाई ५४८ मतान्तरमा खड्काले जितेका हुन् ।

Facebook Comments