उदयपुरको बेलकामा प्रहरी र विपक्षी दल बिच झडप

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा प्रहरी र विपक्षी दल नेपाली कांग्रेससहितको गठबन्धन बिच झडप भएको छ । स्थानीय जनप्रतिनिधि र कर्मचारीले मनलाग्दी आर्थिक अनियमितता गरेको भन्दै नगरपालिका घेराउ गर्ने क्रममा उनिहरु बिच झडप भएको हो ।

झडपको क्रममा प्रहरीसहित दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । टाउको र खुट्टामा चोट लागेका उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । सत्ता पक्ष अर्थात नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता पनि भेला भएकाले मुठभेडको सम्भावना रहेको स्थानीय पत्रकार सुमनसागर खतिवडाले बताए ।

हजारभन्दा बढीको संख्यामा कांग्रेसका कार्यकर्ता नगरपालिकाअगाडि प्रदर्शन गरिरहेका थिए । दुवै पक्षका नेता, कार्यकर्ता भेला भएकाले इलाका प्रहरी कार्यालय रामपुरलाई स्थिति नियन्त्रणमा लिन धौधौ परेको थियो ।

साउनको पहिलो साता नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरीले नगरपालिकामा मनलाग्दी र भ्रष्टाचार बढेको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत राजीनाको घोषणा गरेयता विपक्षी कांग्रेस आन्दोलित बनेको हो । ११ साउनमा चौधरीले विज्ञप्ति निकालेर आत्मआलोचना गर्दै राजीनामा नगर्ने बताइसकेकी छन् ।

स्थानीय सरकार र नेकपाले उपमेयरलाई थमथमाएर भ्रष्टाचार र अनियमिततालाई प्रोत्साहन गरेको भन्दै कांग्रेससहितका विपक्षी दल आन्दोलित बनेका हुन् ।

Facebook Comments