धराबासीको ‘लीलाबोध’ माथि परिचर्चा

काठमाडौं । साहित्यकार कृष्ण धरावासीद्वारा लिखित तथा पैरवी बुक हाउसले बजारमा ल्याएको ‘लीलाबोध’ किताबमाथि बुधबार राजधानीमा परिचर्चा कार्यक्रम आयोजना गरिएको छ।

नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले बीसको दशकमा तेस्रो आयाम सुरु गरेको स्मरण गर्दै आयामेली आन्दोलनले व्याख्या गर्न नसक्ने जीवन दर्शनलाई लीलालेखनले स्पष्ट पारेको बताए।

‘म, वल्लभ, इन्द्रबहादुर राई मिलेर आयामेली आन्दोलन थालेका थियौं, पछि त्यो पनि अपूर्ण लाग्यो,’ काइँलाले सम्भि्कए, ‘इन्द्रबहादुर राईले लीलालेखनमार्फत् नवीन चिन्तन दिनुभयो र, पछिल्लो साढे दुई दशकयता कृष्ण धरावासीले त्यसलाई पछ्याउँदै आएका छन्।’ धरावासीको यो किताबले लीलालेखन तथा विचार बुझ्न मद्दत पुग्ने विचार उनले व्यक्त गरे।

अर्का वक्ता लेखक सञ्जीव उप्रेतीले उत्तर–आधुनिकता र लीलालेखनका धेरै विषयवस्तु मिल्ने भए पनि लीलालेखनले पूर्वीय दर्शन र संस्कृति समाएको धारणा राखे। लीलालेखनको सत्य व्यक्तिगत हुन्छ भन्ने भनाइप्रति आफ्नो विमति रहेको स्पष्ट पार्दै उनले भने, ‘सबै व्यक्तिले सापेक्ष सत्यलाई मेरो विचार हो भन्न थाल्यो भने भोलि समाज नरहने खतरा हुन्छ, वैयक्तिक सत्यलाई कसरी सामाजिकीकरण गर्ने भन्ने अहिलेको मुख्य चुनौती हो।’

लेखक धरावासीले लीलाको २० सूत्रीय धारणालाई आफूले लीलालेखनमा लागेको २६ वर्षपछि लेखेको यस किताबमा सरल, सहज र बोधगम्य तरिकाले स्पष्ट पार्न खोजेको भनाइ राखे। ‘लीलालेखन पूर्वीय दर्शनतिर झुकेको भए पनि यो भक्तिवादतर्फ लक्षित छैन, अध्यात्मवादलाई कसरी विज्ञान तथा सिर्जनशीलतातर्फ जोड्न सकिन्छ भन्ने प्रयत्न हो,’ उनले भने।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *