उदयपुर । उदयपुरका ६ वटा स्थानीय तहले स्वास्थ्य, शिक्षा र कृषिलाई उच्च प्राथामिकतामा राखेर ३ अर्व बढि वजेटसहितको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजानिक गरेका छन् । ८ स्थानीय तहमध्ये कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिका वाहेकका ६ वटाले ३ अर्व २४ करोड २० लाख ५२ हजार ९ सय ४० रुपैँया बराबरको प्रस्तावित वजेटसहित नीति तथा कार्यक्रम ल्याएका हुन् ।
असार १० गते योजनासहितको पूर्ण वजेट ल्याउने भनेपनि रौतामाई गाउँपालिका र ताप्लि गाउँपालिकाले मात्र बुधबार योजनासहितको पूर्ण वजेट ल्याएका छन् । बाँकी त्रियुगा, चौदण्डीगढी, बेलका नगरपालिका र लिम्चुङ्गबुङ्ग गाउँपालिकाले प्रस्तावित वजेट सिलिङ्गसहितको नीति तथा कार्यक्रम ल्याएका हुन् । कटारी नगरपालिकाले बुधबार ल्याउने भनेको नीति तथा कार्यक्रम नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ अस्वस्थ रहेकाले स्थगन गरिएको बताइएको छ । कटारी नपाले असार १६ गते का लागि कार्यक्रम तय गरेको छ ।
त्यस्तै उदयपुरगढी गाउँपालिकाले भौगोलिक विकटताको कारण देखाउँदै समयमा वडाभेला सम्पन्न नभएकाले केहि दिनका लागि सारिएको जानकारी दिएको छ । उपप्रमुख सानुकुमारी राउतले असार १९ गते भित्रमा योजनासहितको वजेट सार्वजानिक गरिने बताईन् ।
पूर्ण वजेट ल्याएको रौतामाईले आगामी बर्षका लागि ४६ करोड ९७ लाख खर्च हुने जनाएको छ । गाउँपालिकाका प्रमुख गजेन्द्रबहादुर खड्काले ०७७।०७८ कोरोना नियन्त्रण, कृषि तथा पशुपालन र वैदेशिक रोजगारबाट फर्किएका युवाहरुका लागि लक्षित गरी रोजगार प्रवर्धन कार्यक्रममा वजेट केन्दित गरिएको जानकारी दिए ।
त्यसैगरी ताप्लि गाउँपालिकाले ३४ करोडको वजेट सार्वजानिक गरेको छ । जिल्लाको दुर्गम क्षेत्रको लिम्चुङ्बुङ् गाउँपालिकाले ३५ करोड ५९ लाख ५६ हजार वजेट तय गरेको छ । अध्यक्ष मेजरकुमार राईले कोरोना नियन्त्रण कोष सञ्चालनमा एक करोड, चालु खर्चमा पाँच करोड तथा कोसी करिडोर सडक निर्माण लगायत अन्य पूर्वाधार निर्माणमा १५ करोड रुपैँया विनियोजन गरिएको बताए ।
जिल्लाको सबैभन्दा जेठो त्रियुगा नगरपालिकाले १ अर्व १ करोड ७ लाख ९६ हजार ६ सय ४९ रुपैँया ८८ पैसाको प्रस्तावित वजेटसहितको नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । “स्वास्थ्य शिक्षित हाम्रो शहर, समुन्नत समावेशी समृद्व त्रियुगा नगर” भन्ने नारालाई सार्थक बनाउने गरी कार्यक्रम ल्याएको मेयर बलदेव चौधरीले जानकारी दिए ।
त्यस्तै बेलका नगरपालिकाले ७३ करोड ६० लाख ५७ हजार ९१ रुपैँया र चौदण्डीगढी नगरपालिकाले ६३ करोड ५५ लाख ४३ हजार २ सय रुपैँयाको वजेट सार्वजानिक गरेको छ । सबै स्थानीय तहले केन्द्रको परिपत्रलाई आधारमानी कोरोना भाईरस नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर आगामि आर्थिक वर्षकोे नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गरेका हुन् ।
त्रियुगाका नगर प्रमुख चौधरीले विभिन्न शिर्षकमा रकम बाँडफाँड भएको जानकारी दिँदै चालुतर्फ ६१ करोड आठलाख ९२ हजार र पुँजीगत खर्च तर्फ २५ करोड १४ लाख २८ हजार रुपैँयाकोे बजेट विनियोजन गरेको बताए । कुल बजेटको चालुमा करिव २६ प्रतिसत र पुँजीगततर्फ ७४ प्रतिसत बजेट रहेको छ । चालु वर्षको बजेट पनि ठूलो परिमाणमा कोरोना नियन्त्रणका लागि खर्च भएको भन्दै नगरप्रमुख चौधरीले हालसम्म महामारी नियन्त्रणमा २ करोड ५० लाख रुपैँया विकास बजेट खर्च भएको र आर्थिक वर्ष ०७७।०७८ मा पनि यो महामारी रोकथाममा ठूलो धनरासी खर्च हुने अनुमान गरिएको बताए ।
वेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले “उत्पादनको दोश्रो वर्ष, कोरोना बिरुद्धको स्वास्थ्य संघर्ष” भन्ने नयाँ नीति तथा कार्यक्रम सहितको बजेट प्रस्तुत गरिएको बताए । उनले कोरोना नियन्त्रणको प्रभावकारी कार्ययोजना निर्माण र कार्यान्वयन, कृषि उपजको उचित मूल्याङ्कन गरी किसान लक्षित कार्यक्रम सञ्चालन, सवै वडाहरुको जग्गा नापी गर्ने योजना, रोजगार अभिबृद्धि कोष स्थपना र सञ्चालन र सवै वडा कार्यालयहरुको भवन निर्माण लगायतका कार्यक्रमहरु ल्याइएको बताए ।
चौदण्डिगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले कृषि, शिक्षा, स्वास्थ्य, सडक निर्माणमा जोड दिएको बताए । उनले बेल्टारमा कोरोना अस्पताल निर्माणका लागि ५० लाख वजेट व्यवस्था गरिएको बताए ।