उदयपुरमा अछुत बने कोरोना संक्रमितको बस्ती, एक सय ५० मिटर आसपासको क्षेत्र सिल

उदयपुर । भुल्केमा भएको कोरोनाको घटना सेलाउन नपाउदै पुनः उदयपुरको सदरमुकाम गाईघाटबासी आतंकित बनेका छन् । स्थानीय ५४ बर्षिया एक महिलामा मंगलबार कोरोना संक्रमण देखिएपछि स्थानीयहरु आतंकित बनेका हुन् ।

अहिले गाईघाट स्थित संक्रमितको घर र आसपासका क्षेत्रहरुमा सिल गरिएको छ । पुरानो पेट्रोल पम्प (एसके पेट्रोलपम्प) छेउमा रहेको उनको घर र घरदेखि १ सय ५० मिटर आसपासको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सिल गरेको छ ।

सिल गरिएको क्षेत्रलाई सुरक्षा घेराभित्र राखिने जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले बताए । सुरक्षाभित्रको क्षेत्रमा कसैलाई प्रवेश गर्न र भित्रकालाई बाहिर निस्कन दिईएको छैन ।

उनी गत जेठ ३० गते गाईघाटदेखि उपचारको लागि विराटनगर हुदै असार १ गते काठमाडौंको न्यूरो हस्पिटल पुगेको बुझिएको छ । उपचारको क्रममा रहेकी उनलाई पिसिआर चेक गर्दा पोजेटिभ देखिएको थियो ।

प्रेसरको विरामी रहेको संक्रमित महिला आजभन्दा १२ दिन अघि गाइघाटबाट उपचारमा हिडेको देखिन्छ । उनलाई संक्रमण कहाँ भयो भन्ने बारे प्रष्ट हुन सकेको छैन ।

कोरोना पुष्टि भएपछि उनलाई काठमाडौं कोरोना हस्पिटल टिचिङ हस्पिटल लगिएको बुझिएको छ । महिलामा कोरोना पुष्टि भएसंगै गाइघाट बजारमा सन्त्रास फैलिएको छ । योसंगै उदयपुरमा संक्रमितको संख्या ५३ पुगेको छ ।

Facebook Comments