उदयपुर । उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरगढी गाउँपालिका वडानं ५ का २५ बर्षिय युवामा संक्रमण देखिएको हो ।
गाउँपालिकाले भारतबाट आएका र अन्य गरी जेठ २२ गते ७९ जनाको स्वाब संकलन गरी विराटनगर पठाएको थियो । त्यमध्ये छिमेकी मुलुक भारतबाट घर आएका युवामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिए । उनी केहि दिन यता गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा बस्दै आएका थिए ।
जेठ २ गते एक जना थपिएपछि सुन्य अवश्था रहेको कोरोना उदयपुरमा जेठ २५ गते एकैसाथ बेलका नगरपालिकामा २ जना र चौदण्डीगढ नपामा १ जना गरी तीन जनामा देखिएपछि पुनः संक्रमण फैलिएको हो । ८ स्थानीय तह रहेको उदयपुरमा ४ गाउँपालिका र ४ नगरपालिका रहेका छन् ।
त्यसमध्ये त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा यसअघि कोरोना संक्रमण देखापरेको छ भने गाउँपालिकामा सबैभन्दा पहिला उदयपुरगढीमा देखिएको छ । भौगोलिक र जनसंख्याको हिसावले गाउँपालिका मध्ये सबैभन्दा ठुलो उदयपुरगढी गाउँपालिका पर्दछ ।
यो सँगै उदयपुरमा संक्रमितको संख्या ३७ पुगेको छ । उपचारपछि निको भएर घर फर्कनेको संख्या ३२ पुगेको सुबेदीले जानकारी दिए । संक्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले स्वाब संकलनमा तिव्रता दिएको छ । बुधबार मात्रै कार्यालयले २ सय ८ जनाको स्वाब संकलन गरी धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको उनले बताए ।
नयाँ संक्रमित नभेटिएपछि सामान्य बन्दै गएको उदयपुरमा फेरी त्रास सुरु भएको छ । उनलाई एम्बुलेन्समार्फत विराटनगर लैजाने तयारी भईरहेको स्वास्थ्य प्रमुख सुबेदीले बताए ।