कोरोना केन्द्रविन्दु उदयपुरमा भिटिएमको चरम अभाव, अब एक थान मात्र बाँकी

उदयपुर । कोरोना भाईरसको केन्द्रविन्दु बनेको उदयपुरमा पिसीआर परीक्षण कार्य ज्यादै सुस्तगतिमा भईरहेको छ । स्वाबको नमुना संकलन गर्ने जनशक्ति पर्याप्त भएपनि परीक्षणका लागि चाहिने भीटीएम अभाव हुँदा स्वाब संकलन कार्य स्थगन भएको हो ।

बैशाख महिनासम्म देशकै अग्रभागमा रहेको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के र आसपासका क्षेत्र भीटीएम अभावकैकारण परीक्षण कार्य सुस्तगतिमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीले बताए । सुबेदीका अनुसार स्वास्थ्य कार्यालयमा हाल एक थान मात्र भीटीएम रहेको छ ।

जेठ ३ गतेदेखि भीटीएम सकिएको माथिल्लो निकायलाई जानकारी गराएपनि पठाउने आश्वसन मात्र पाएको उनको भनाई छ । संक्रमित पत्रकारको कन्ट्रायक्सेसनका आधारमा जेठ ३ गते ३८ जनाको नमुना संकलनगर्दा एक थान बाँकी रहेको उनले बताए । प्रदेस सरकारले पठाएको ५ थान भीटीएम उतैबाट आउँदा ड्यामेज (काम नलाग्ने) भएको प्रमुख सुवेदीले बताए ।

हालसम्म भुल्के क्षेत्रमा ३२ र त्रिनपा ११ गाईघाटमा १ गरी ३३ जनामा संक्रमण पुष्टि भइसकेको छ । परीक्षणले तीव्रता नपाउँदा जोखिम बढेको भन्दै स्थानीय चिन्तित छन् । एउटा बस्ति र समुदायबाट अर्को बस्ति र समुदायमा कोरोना संक्रमण फैलदासमेत स्वाब परीक्षणको दायरलाई फराकिलो बनाउन नसक्नु सरकारको कमजोरी रहेको नेपाली काँग्रेसका नेता तथा त्रियुगा नगरपालिकाका छायाँ सरकार प्रमुख बसन्त बस्नेतले बताए ।

यो महामारीको संकटमा विकास निर्माणभन्दा जनताको स्वास्थ्यमा केन्द्रित रहेर काम गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाई छ । ‘प्रदेश १ कै इपिसेन्टर बन्दासमेत सरकारको ध्यान पुग्न सकेको छैन्’ नेता बस्नेतले भन्छन् ‘महामारीको अबश्थालाई मध्यनजर गरी जिल्ला अस्पताललाई कोरोना उपचार केन्द्र बनाउने र पिसिआर परीक्षणका लागि मेसिन पठाउने निर्णय तत्काल कार्यान्वन गर्न जरुरी देखिन्छ’ ।

संक्रमित व्यक्ति मास्क सिलाएर वितरण गर्ने, गाउँघर घुमेर चुरा बेच्नेदेखि छाता र कुकर मर्मत गर्नेसम्मका छन् । भुल्के र यस आसपासका बस्तीमा मात्र होइन, संक्रमितसँग सम्पर्कमा आएका सबैको परीक्षण गर्न स्थानीयले माग गरेका छन् । कार्यालयले हालसम्म ५ सय ५२ जना महिला र ९ सय ८९ पुरुष गरी एक हजार ५ सय ४१ जनाको पिसीआर परीक्षण गरिसकेको छ । त्यसमध्ये ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

परीक्षणका लागि भीटीएमलगायत स्वास्थ्य सामग्री अभाव हुँदा ढिलाइ भएको त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले बताए । प्रमुख चौधरीका अनुसार परीक्षणका लागि भीटीएम, थप स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मी र राहतका लागि प्रदेश र संघीय सरकारलाई पटक–पटक अनुरोध गरिएको छ । तर, अहिलेसम्म पर्याप्त सामग्री नभएकोले समस्या जटिल भएको छ ।

Facebook Comments