उदयपुर । कोरोना भाईरस संक्रमण रोकथामका लागि आन्तरिक तयारी गर्दै आएको उदयपुरको रौतामाई गाउँपालिकाले लकडाउनबाट प्रभावितहरुलाई राहत वितरण गरेको छ । लकडाउनले दैनिक ज्यालादारी गरेर खाने मजदुरलाई समस्या परेका भन्दै आफ्नो गाउँपालिका भित्र रहेको सबै वडाका चार सय ७३ घरघुरीलाई राहत सामग्री बितरण गरेको गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए ।
अध्यक्ष खड्काका अनुसार गाउँपालिकामा रहेको आठ वडाका मजदुर तथा विपन्न बर्गका घरपरिवारलाई राहत सामाग्री बितरण गरिएको थियो । जसमा प्रति परिवार चामल २० केजी, दाल दुई केजी, नुन दुई केजी, खान तेल एक लिटर र साबुन ४ डल्ला रहेको थियो ।
सामाग्री वडा नम्वर एकमा रहेको २३ घरधुरी, दुईमा रहेको ३२ घरधुरी, तिनमा रहेको १२ घरधुरी, चारमा रहेको ३५ घरधुरी, पाँचमा रहेको एक सय घरधुरी, छमा रहेको चार घरधुरी, सातमा रहेको २ सय ३२ घरधुरी, र आठमा रहेको ३५ घरधुरीलाई वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताए । अधिकृत राईका अनुसार प्याकेज स्वरुप ६ लाख ६२ हजार २ सय बराबरको राहत सामाग्री बितरण गरिएको थियो ।