उदयपुरमा दारु खोप सञ्चालनको तयारी

उदयपुर । फागुन एकदेखि उदयपुरमा दादुरा–रुवेला खोप अभियान, २०७६ सञ्चालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले बिहिबार सञ्चारकर्मीसँगको एक अन्तरक्रिया कार्यक्रममा अभियानबारे जानकारी गराएका छन् । अभियान दुई चरणमा सञ्चालन गरिने पनि आयोजकले जानकारी गराएका छन् ।

पहिलो चरणको अभियान फागुन १ देखि ५ गतेसम्म कटारी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा सञ्चालन गरिने स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताए । सुबेदीका अनुसार दोस्रो चरणको अभियान फागुन १५ गतेदेखि २० गतेसम्म त्रियुगा नगरपालिका, चौदण्डिढी नगरपालिका, बेलाका नगरपालिका, रौतामाई गाउँपालिका र लिम्चुङ्बुङ गाउँपालिकामा सञ्चालन हुनेछ ।

अभियान साविकका गाविसको वडाहरुलाई नै आधार मानेर संचालन गर्ने तयारी भईरहेको छ । बालबालिकालाई दुई वर्ष भित्र लगाईने खोप अहिलेसम्म ११ वटा रोगको मात्रै दिईदै आएको खोप सुपरभाईजर चिरन्जिवी निरौलाले बताए । सुपरभाईजर निरौलाका अनुसार आगामी वैशाखदेखि झाडापखालाको थपिएर १२ वटा रोगका लागि खोप लगाईने छ ।

उनले विभिन्न महत्वपूर्ण कामको लागि खोपको कार्ड खोज्न थालिएपछि त्यसको पनि व्यावस्था मिलाईएको समेत बताए । अहिले जिल्लामा चार सय ९० खोप केन्द्रबाट ३३ हजार ५ सय ७८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । अभियानमा ५ सय ३१ जना खोप दिने स्वास्थ्यकर्मी र ९ सय ६७ जना स्वयमसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

देशभर ।  देशभर दादुरा–रुबेला खोप अभियान दुई चरणमा सञ्‍चालन गरिने भएको छ । पहिलो चरणमा प्रदेश १, २ र ५ का ३ सय ३४ स्थानीयतहमा खोप अभियान सञ्‍चालन गर्न लागिएको हो । एउटा स्थानीय तहमा ९ दिन र तोकिएका हरेक जिल्लामा एक महिनासम्म अभियान चलाइनेछ । पहिलो चरणमा ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ बालबालिकालाई खोप खुवाइने लक्ष्य छ ।

यस्तै दोस्रो चरण अन्तर्गत चैत महिनामा प्रदेश ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालबालिकालाई खोप लगाउने तयारी पुरा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित कार्यक्रम सञ्‍चालन पुस्तिकामा उल्लेख भएअनुसार पहिलो र दोस्रो चरण गरी विभिन्‍न १९ जिल्लामा पोलियो थोपासमेत खुवाइनेछ ।

तत्कालिन गाविसको हकमा प्रत्येक वडामा एक र नगरपालिकामा २ वटा खोप केन्द्र निर्धारण गरिएको छ । आवश्यकता अनुसार खोप केन्द्रको संख्या बढ्न पनि सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहुँचबाट टाढा रहेको बस्ती, शहरका घनाबस्ती, सुकुम्बासी बस्ती, कारखाना, बालमन्दिर, अनाथ आश्रम, इट्टा उद्योग, सिमा क्षेत्र र बस स्टेशनहरुमा समेत खोप र पोलियो थोपाका लागि परिचान गरिँदैछ ।

देशभरका ९ महिनादेखि पाँच वर्षभित्रका करिब ३० लाख बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने सरकारको लक्ष्य छ । अभियानमा देशभरका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय निकायका जनप्रतिनिधि लगायतलाई सहभागी गराइनेछ ।

दादुरा–रुवेलाको अवस्था । सरकारले सार्वजनिक गरेको कार्यक्रम सञ्‍चालन एवं निर्देशिका अनुसार नेपालमा सन् २००३ देखि दादुरा–रुवेलाको देशव्यापी अन्वे सर्भिलेन्स शुरु भयो । त्यतिबेला देशभरमा ५ हजार ४ सय १९ जनामा दादुराको प्रकोप देखा परेको थियो । सन् २००४ मा दादुरा पीडित बिरामीको संख्या ह्यातै बढेर ८ हजार १ सय ३३ पुग्यो ।

त्यसपछि सरकारले दादुरा–रुवेला विरुद्धको खोप सञ्‍चालन गरे । पछि सन् २०१८ मा ९० प्रतिशतले बिरामी घट्यो। सन् २०१८ मा सरकारले गरेको सर्भिलेन्सबाट दादुरा पीडितको संख्या घटेर मात्र २ सय ६० जना फेला परेको थियो । अहिले दादुरा–रुवेला पीडितको संख्या मात्र १८ जना रहेको मन्त्रालयको तथ्यांक छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *