उदयपुर, ११ चैत । १५ बर्षीया बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक भारतीय नागरिकलाई जिल्ला अदालत उदयपुरले बिहिबार ५ बर्ष जेल र क्षेतिपुर्तिस्वरुप २० हजार जरिवानाको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधिश महेन्द्रबहादुर कार्कीको एकल इजालासले भारतको दरभगां वहादुर पञ्चायत ठेकुली स्थायी घर भई हाल चौदण्डी नगरपालिका ७ (साविक बेल्टारबसाहा नपा १) मा व्यापार गरी बस्दै आएका २५ बर्षीय अमरनाथ लालदेवलाई यस्तो सजायको फैसला सुनाएको हो ।
अदालतले अमरनाथलाई बलात्कार गरी कैद भुक्तानका लागि बिहीबार नै कारागार पठाएको श्रेस्तेदार ऋतबहादुर मगरले जानकारी दिए । अमरनाथले ०७३ साउन ३२ गते बालिकालाई ललाईफकाई बेल्टारको दमक होटलमा लगेर बलात्कार गरेका थिए ।
बलात्कारको क्रममा बालिका चिच्याएपछि होटलवालाले अमरनाथलाई समाती इलाका प्रहरी कार्यालयमा बुझाएका थिए । उनीविरुद्ध पीडितका आफन्तले भदौ १ गते इप्रका बेल्टारमा निवेदन दिएका थिए ।
गिर्फतार परेका अमरनाथलाई जिल्ला अदालतले भदौ २४ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । पीडितको भदौ १ गते जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो ।
बालिका बलात्कारको ठहर गर्दै ५ बर्ष जेल र २० हजार जरिवाना
Facebook Comments