जाल्पा गोल्डकपको उपाधि उदयपुरगढीलाई

सुकौरा । प्रथम जाल्पा गोल्डकपको उपाधि उदयपुरगढी फुटवल क्लवले चुमेको छ । जाल्पा स्पोर्टस क्लव उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका १६ स्थित उदयपुर सिमेण्ट उद्योगको खेलमैदानमा मंगलबार भएको फाईनल खेलमा गाईघाट फुटवल क्लवलाई ४–३ को गोलअन्तरले पछि पार्दै उदयपुरगढीले जित हात पारेको हो । निर्धारित ९० मिनेटको खेलमा दुबै समुहबाट २–२ गोल भएपछि खेल ट्राईव्रेकरमा पुगेको थियो ।

खेल सुरु भएको १ मिनेटमा गाईघाटका समिरराज राउतले खाता खोलेका थिए । गाईघाटका सुनिल खड्काले प्रहार गरेको सुटलाई विपक्षी गोलरक्षक दिलकुमार लिम्बुले नियन्त्रणमा लिएर पनि भुईमा खसालेपछि समिरले त्यसको सदुपयोग गरेका थिए । निकै नै आक्रमक खेल खेलेको उदयपुरगढीले व्रेक अघि कुनै गोल गर्न सकेन । व्रेकपछिको समयलाई गढीका खेलाडीहरुले भरपुर सदुपयोग गरेका थिए ।

व्रेक लगत्तै ३ मिनेटमा गढीका उज्वल चाम्लिङले १ गोल गर्दै खेल बराबरीमा पुर्याए । लगत्तै २० औँ मिनेटमा गढीका सुरज भुजेलले थप १ गोल गर्दै टिमलाई अग्रता दिलाए । गढीले अग्रता लिएको ३५ औँ मिनेटमा पुनः गाईघाटका सुनिल खड्काले १ गोल गर्दै खेल बराबरीमा पुर्याए । निर्धारित समय पछिको थप गरिएको समयमा पनि कुनै समुहबाट गोल नभएपछि खेल ट्राईव्रेकरमा पुगेको थियो । ट्राईव्रेकरमा गाईघाटका दुई र गढीका १ खेलाडीले गोल गर्न सकेनन् ।

गाईघाटका लागि अर्जुन मगर, समिरराज राउत र सागर रायले गोल गरे भने गढीका योगेश बुर्जामगर, उज्वल चाम्लिङ, सबिन थापा र विजय भुजेलले गोल गरे । प्रतियोगिताको मंगलबार भएको फाईनल खेलमा गढीका विजय भुजेल उत्कृष्ट खेलाडी र गढीकै दिलकुमार लिम्बु उत्कृष्ट गोलरक्षक घोषित भए । जितसँगै उदयपुरगढीले नगद १ लाख १ हजार १ सय ११ रुपिँया शिल्ड र उपविजेताले नगद ५० हजार ५ सय ५ रुपिँया र मेडल प्राप्त गरे । उनीहरुलाई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र अखिल नेपाल फुटवल संघका पवक्ता तथा केन्द्रिय सदस्य किरण राईले नगदसहितले सम्मान गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *