



उयदपुर । आ–आफ्नो घरमा टिका थापेसँगै अन्यन्त्र टिका थाप्न हिडेका यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल्ने सार्बजनिक सवारी साधनलाई उदयपुरमा कारबाही सुरु गरिएको छ । कारबाहीको क्रममा यात्रुबाट लिएको बढी भाडा जिल्ला ट्राफिक प्रहरीको सक्रियतामा फिर्ता गर्न सुरु गरिएको हो । चाडवार्डको समय यात्रुसँग अनियमित रुपमा बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले त्यस्ता सवारी साधनका चालकलाई नियन्त्रणमा लिई बढी रकम फिर्ता गराएको हो ।
अनावश्यक भाडा लिएको उजुरी परेसँगै सार्बजनिक सवारी साधनहरुलाई मंगलबारबाट ट्राफिक पोष्ट जलजलेले नियन्त्रणमा लिएर यात्रुबाट लिएको बढी रकम फिर्ता गराउँदै सवारी चालकलाई जरिवानासमेत तिराउन सुरु गरिएको ट्राफिक पोष्ट जलजलेका ट्राफिक प्रहरी जवान गोविन्द पौडेलले बताए । चाडपर्वको समय यातायात व्यवसायीले चर्को भाडा असुल्न थालेपछि चनाखो बनेको ट्राफिक प्रहरीले चारैतिर निगरानी बढाउदै आएको छ । त्यसैक्रममा बढी भाडा लिने एउटा बस र एउटा सुमो जीपका १६ यात्रुलाई बढी रकम फिर्ता गराएको ट्राफिक प्रहरी जवान पौडेलले बताए ।
उनका अनुसार सरकारले तोकेको प्रतिव्यक्ति १ हजार रुपैयाँ भाडा लिनुपर्नेमा १ हजार ३ सय लिएका दुवै सवारी साधनलाई बढी रकम फिर्ता गराउँदै जरिवाना तिराइएको हो । पहिलो पटकको घट्ना भएकाले बढी भाडा लिने सवारी साधनलाई २ हजार मात्र जरिवाना गरेर छाडिएको ट्राफिक जिल्ला इन्चार्ज अमृतबहादुर कार्कीले बताए । कारबाहीमा परेका गाडीले पुनः बढी भाडा लिएको पाइएमा कडा कारबाही गर्ने लिखत सहमतिका साथ छोडिएको समेत कार्कीले बताए ।
भिडियोः–