गजेन्द्र राई
उदयपुर । उदयपुरमा सरकारी छाप दुरुपयोग र कार्यालय प्रमुखको किर्ते हस्ताक्षर गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– ६ जलजले बस्ने बर्ष ३६ को घुरन चौधरी र त्रियुगा– ९ रातमाटे बस्ने बर्ष ३२ को राम प्रसाद भण्डारी रहेका छन् । उनिहरुलाई जग्गा कारोबारको क्रममा नक्कली जग्गाधनी प्रमाणपत्रमा सरकारी छापको दुरुपयोग र जिल्ला मापतोत कार्यालय उदयपुरको प्रमुख नबराज खड्काको किर्ते हस्ताक्षर आरोपमा पक्राउ गरिएको हो ।
जग्गा कारोबारको क्रममा त्रियुगा नगरपालिका– ११ बस्ने गीता कुमारी चौधरीले आफुलाई नक्कली जग्गा धनीपुर्जा बनाईदिएर ठगि गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरको डिएसपी मेघराज अधिकारीले बताए । डिएसपी अधिकारीका अनुसार पक्राउपछि अनुसन्धान गर्दा जग्गा धनीपुर्जामा भएको सरकारी छाप चौधरी र भण्डारीले दुरुपयोग गर्नुको साथै कार्यालय प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेको पाईएको छ ।
अनुसन्धानकै क्रममा गत असोज १० गते मिति रहेको जग्गा धनिपुर्जामा मालपोत कार्यालयमा भएको छापनै प्रयोग भएकोसमेत पाईएको छ । सरकारी छाप प्रयोग गर्ने भुमिका लेखापढी व्यवसायीसमेत रहेका भण्डारीको हुनसक्ने आशंका गरिएको छ । जग्गा पास भएको केहि दिनपछि, जग्गा धनिले धोका दियो भन्दै आफुसँग भएको धनिपुर्जा खोज्न थालेपछि उनिहरु बिरुद्ध प्रहरीमा उजुरी गरेको पीडित चौधरीले बताईन् । “अस्तिको धनिपुर्जा दिनुप¥यो भन्दै उनिहरु मेरो घरमा आए” पीडित चौधरीले भनिन् “तिमीलाई बेच्ने जग्गाधनिले नराम्रोसँग हामीलाई धोका दियो” ।
आफ्नो नाममा धनिपुर्जा बनेपनि जग्गाधनि नचिनेको उनले बताईन् । उनले छागाबाट झरेजस्तो भएपछि हारगुहार गर्दै प्रहरीमा उजुरी दिन गए पीडित चौधरीले भनिन् । पीडित चौधरीका अनुसार दुई किस्तागरी आठ लाख रुपैया उनिहरुले लिएका छन् । जग्गादिने शर्तमा उनिहरुले पहिलो किस्तामा पाँच लाख र दोस्रो किस्तामा तिन लाख रुपैया लिएको थियो । उता, जिल्ला मालपोत कार्यालय उदयपुरको प्रमुख नबराज खड्काले सो धनीपुर्जामा भएको हस्ताक्षर आफ्नो नभएको बताएका छन् ।
उनले आफ्नो नामको धनिपुर्जा हरायो भन्दै पीडित चौधरी मोलपोत कार्यालयमा आएपछि मात्र नक्कली जग्गाधनी पुर्जाबारे जानकारी पाएको बताए । अहिले पक्राउ परेका चौधरी र भण्डारीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । पक्राउ परेका चौधरी जग्गा कारोबारमा संलग्न व्यक्ति हुन् भने भण्डारी लेखापढी व्यवसायी हुन् ।
भिडियोः–